रामेछाप । वैशाख २९ गते,
सरकारले विश्वव्यापी रुपमा महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालमा लकडाउन घोषणा गरी लागु गरेको वैशाख २९ गते सोमबार ४९ दिन भएको छ । जेठ ५ गतेसम्म लकडाउन लम्ब्याएको सरकारले क्रमशः केही पेशा र व्यवसाय गर्न छूट दिन थालेको यसैलाई मौका छोपेर रामेछाप जिल्लामा लकडाउनको नमान्नेहरु पनि बढ्दै गएका छन् । सरकारले आवश्यक सुरक्षा सावधानी अपनाएर पुर्ण सामाजिक दुरी कायम गरेर मात्रै अत्यावश्यक पेशा व्यवसाय संचालन गर्न भनेको छ । तर रामेछापमा सामाजिक दुरीको त कुरै छाडौ दिन प्रतिदिन लकडाउन खुकुलो हुदै गएको मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक अधिवक्ता पाण्डव प्रसाद प्रसाई बताउछन् । बजार क्षेत्रहरुमा सवारी तथा पैदलयत्रीहरुको आवागमन बढ्दै जानुले पनि जिल्लामा लकडाउन पालना कमजोर बन्दै गएको महशुस हुने उनको भनाई छ । उनले अहिले बिहान १० बजेदखी दिउँसो ३ बजेसम्म संचालन हुने बैंकहरुले कोरोनाबाट बच्न सामान्य सावधानी समेत नअपनाई सेवा प्रवाहा गरिरहेकाले यसले भविष्यमा ठुलो समस्या निम्त्याउन सक्ने बताए । स्थानीय प्रशासनले विहान ६ बजे देखि ९ बजेसम्म खोल्न दिएको अत्यावश्यक सामाग्री पाइने पेशा व्यवसायमा दुरी कायम हुनसकेको छैन । अहिले जिल्ला सदरमुकाम मन्थली बजारमा दिउँसो र बेलुका भन्दा बिहानको समयमा भिडभाड बढ्दै गएकाले आवश्यक सतर्कता बढाउन आवश्यक भएपनि सरोकारवाला निकायले खासै ध्यान दिएको देखिदैन । यसैबिच रामेछाप लकडाउन खुकुलो बन्दै गएको गुनासो आएपछि जिल्ला भित्रने सिमा नाकामा थप सुरक्षा सतर्कता बढाइएको छ । सिमा नाकाहरुमा आइतबारबाट सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । बैशाख २८ गते आइतबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले बाहिरी जिल्लाहरु सिन्धुली, काभ्रे, ओखलढुंगा, दोलखा तथा सोलुबाट भित्रने नाकाहरुबाट मानिस भित्रन थप कडाई गर्ने निर्णय गरेको थियो ।
