रामेछाप । वैशाख २८ गते,
सरकारले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालमा बन्दाबन्दी घोषणा गरेर लागु गरेको वैशाख २८ गते आइतबार ४८ दिन भएको छ । यसबीचमा रामेछाप जिल्लामा २ सय १३ जनाको यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने जिल्लाभर २८ जनालाई क्वारेन्टिनमा राखिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी जिल्लामा हालसम्म ३ सय ३१ शैया क्वारेन्टिन र ६१ शैया आइसोलेसन कक्ष स्थापना गरिएको छ । जेठ ५ गतेसम्म लकडाउन लम्ब्याएको सरकारले क्रमशः केही पेशा र व्यवसाय गर्न छूट दिन थालेको यसैलाई मौका छोपेर जिल्लामा लकडाउनको नमान्नेहरु बढ्दै गएको छ । सुरक्षा सावधानी अपनाएर गर्न पाइने त्यस्ता पेशा व्यवसायमा सामाजिक दूरीको पालना पनि गर्न भनिएको छ । तर रामेछापमा सामाजिक दुरीको त कुरै छाडौ दिन प्रतिदिन लकडाउन खुकुलो बन्दै गएको छ । बजार क्षेत्रहरुमा दैनिक रुपमा सवारी तथा पैदलयत्रीहरुको आवागमन बढ्दै गएको देखिन्छ । यतिमात्रै हैन स्थानीय प्रशासनले विहान ६ बजे देखि ९ बजेसम्म अत्यावश्यक सामाग्री बाहेकका अन्य पसलहरु खोल्न नपाउने भनिए पनि आइतबार विहान मन्थलीमा कपडा पसल, भाडा पसल, चटपटे पसल लगायतका पसल समेत खुलेका थिए । प्रहरीकै आँखा अगाडी लकडाउनको उलंघन गरी मन्थली बजारमा खुलेका पसल बन्द गराउन प्रहरीलाई निकै कसरतनै गर्नुपरेको थियो ।
