रामेछाप । वैशाख १६ गते,
विश्वभरि माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोक्नका लागी सरकारले देशलाई पूर्ण रुपमा ‘लक डाउन’ गरेको छ । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कसैको लापरवाहीका कारण मानव स्वास्थ्यमा संकट नपरोस भन्दै सरकारले गरेको लकडाउनको समयावधि समेत थप गर्दै लगेको छ । नेपालमा लकडाउन जारी भएको ३५ औँ दिनसम्म आइपुग्दा ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ भने १६ जना उपचारपछि निको भएर घर गैसकेका छन् । देशभर जस्तै रामेछाप जिल्लाले पनि कोरोना संक्रमणबाट बच्नका लागि विभिन्न योजना सहित आवश्यक सतर्कता बढाएको देखिन्छ । ८ वटा स्थानीय तहले अहिले आआफ्नो पालिका तथा वडा तहमा क्वारेन्टिन तथा आइसोलेसन कक्ष स्थापना गरेको छ । जिल्लामा क्वारेन्टिनमा बस्ने तथा संकास्पद व्यक्तिहरुको र्यापिड टेष्ट गर्ने दरलाई पनि बढाउँदै लगिएको देखिन्छ । जिल्लामा १ सय ७० जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । सोमबारसम्म ३६ जना महिला र १ सय ३४ जना पुरुष गरी १ सय ७० जनाको यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्ण बताउँछन् । कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १८ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ३ जना , गोकुलगंगा गाउँपालिकामा ४१ , खाँडादेवी गाउँपालिकामा ३८ जना र जिल्ला अस्पतालमा २ जनाको र्यापिड परिक्षण गरिएको छ । आइतबार सम्म रामेछापमा ३६ जना क्वारेन्टिनमा छन् । रामेछाप नगरपालिकामा २ जना , दोरम्बा गाउँपालिकामा ९ जना र उमाकुण्ड गाउँपाकिलामा २५ जना क्वारेन्टिनमा छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा ३ सय ३१ शैया क्वारेन्टिन र ६१ शैया आइसोलेसन कक्ष स्थापना गरिएको छ ।
खै त दुरी कायम ?
कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कसैको लापरवाहीका कारण मानव स्वास्थ्यमा संकट नपरोस भन्दै सरकारले गरेको लकडाउनको समयावधि थप गरीरहेको छ । लकडाउनका समयमा अत्यावश्यक सामाग्री पाइने पसलहरु दुरी कायम गरी निश्चित समयका लागि खोल्ने पनि गरिएको छ । यसका कारण अहिले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बजार क्षेत्रमा बिहान बेलुकाको समयमा मानिसहरुको उपस्थिति बढ्दै गएको देखिन्छ । स्थानीय प्रशासनले बिहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक सामाग्री पाइने पसल खोल्ने निर्णय गरेपछि बजारमा किनमेल गर्ने र लकडाउनका समयमा घरभित्रै बसेर कुजिएका मानिसहरुलाई बजारमा खुट्टा तन्काउन सजिलो भएको छ । लकडाउनको समयमा मानिसको आवत जावतका कारण हुनसक्ने सम्भावित जोखिमतालाई ध्यानमा राखेर सरकारले अत्यावश्यक सामाग्री पाइने खाद्यान्न , तरकारी , दुध लगाएतका समाग्री पाइने पसलहरु खोल्ने तर दुरी कायम अनिवार्य गर्न भनेको छ । तर रामेछापको बजार क्षेत्रहरुमा यसको कार्यान्वयन भएको देखिदैन । बजार क्षेत्रका पसलहरुमा सुरुका दिनमा दुरी कायमका लागि रेखाङकन गरिएको देखियो तर त्यो रेखाङकनको नियममा रहेर न त व्यवसायीले विक्रिवितरण गरेको देखियो न त सर्वसाधारणहरुलेनै किनमेल गरेको देखियो । कोरोना भाइरस संक्रमण जो कसैलाई पनि हुन सक्ने सम्भावानाको समयमा सरकारले मानिस कुरा गर्दा वा किनमेल गर्दा कम्तीमा १ र १ मिटरको दुरी कायम गर्नु भनेर सुचित गरिरहेको समयमै यसको व्यवास्था हुदा संक्रमण नहोला भन्न सकिन्न । वर्तमान अवस्थालाई हेर्दा रामेछाप जिल्लाको बजार क्षेत्रहरुमा दुरी कायम गर्नका लागि स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरु खासै चासो दिएर लागेको देखिदैन । करिब एक मिटरको दुरीमा मात्रै मानिसहरुसँग हिँड्न तथा किनमेल गर्नु उचित हुन्छ । त्यसैले त्यही अनुसारको दुरी कायम राख्नु नै सामाजिक दुरी भनिन्छ । तर जिल्लाको बजार क्षेत्रहरुमा यसको कार्यान्वयन भने भएको देखिदैन । कोरोना संक्रमणको संभावित जोखिमतालाई ध्यानमा राखेर दुरी कायम गर्नका लागि न त यहाँका स्थानीय सरकारले चासो दिएको देखिन्छ न त स्थानीय प्रशासनलेनै यसलाई कडाईका साथ कार्यान्वयन गर्न सकेको छ । कोरोनाको जोखिम कम गर्न सामाजिक दुरीको महत्वपूर्ण भूमिका रहन्छ। तर, बजारमा त्यस्तो कुनै दुरी कायम गरी कार्यान्वयन छैन । सर्वसाधारणहरु एकै पटक भीड गरेर तरकारी लगाएतका सामाग्रीहरु खरिद गर्छन । तर यस्तो अवस्थाले निम्त्याउन सक्ने परिस्थतिका बारेमा पुर्ण जानकारी हुदा हुदै पनि जिल्लाका सरोकारवाला निकायहरु टुलुटुलु हेरेर बसिरहेका छन् । यस्तो साना तिना व्यवास्थाका कारण भोलिका दिनमा आउन सम्ने कठिनाई तथा अन्य बिषम परिस्थितिहरुका बारेमा , स्थानीय प्रशासन, स्थानीय सरकार लगाएत जिल्लाको कुनैपनि सरोकारवाला निकायहरुको खासै ध्यान जान सकेको छैन ।
सामाजिक दुरी कायम राख्नु नै कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय हो
सामाजिक दुरी कायम राख्नु नै कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय हो । करिब एक मिटरको दुरीमा मात्रै मानिसहरुसँग हिँड्न तथा किनमेल गर्नु उचित हुन्छ । त्यसैले त्यही अनुसारको दुरी कायम राख्नु नै सामाजिक दुरी हो । यो कसरी सम्भव छ ? अनिश्चितकालको लागि बाहिर जानै बन्द गर्न सम्भव छैन । बजारमा बस्नेहरुको लागि सबै ठाउँमा एक मिटरको दुरी कायम राख्नु पनि सम्भव छैन । तर, हामिले गर्ने धार्मिक कार्यक्रमहरुमा संयमता, भीड हुने समयबाट बच्न,हात धुने वा स्यानिटाइजरको महत्वबारे प्रयाप्त जानकारी राख्ने र सामाजिक बन्न कम गर्ने हो भने पक्कै कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।

