मानवअधिकारका सवालमा गम्भीर बन्न मानवअधिकार संरक्षण सञ्जाल रामेछापको अपिल

  • प्रकाशित मिति: शुक्रबार, बैशाख ५ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख ५ गते,
मानवअधिकार संरक्षण सञ्जाल रामेछापले कोरोना भाइरसँग लडिरहेको वर्तमान समयमा जिल्लामा स्वाथ्य, खाद्य र मानवअधिकारका सवालमा गम्भिर बन्न सरोकारवाला निकायहरुलाई अपिल गरेको छ । सञ्जालका संयोजक पाण्डव प्रसाईले शुक्रबार एक अपिल सार्वजनिक गरी यस्तो अपिल गरेका हुन् ।
अपिलमा कुनै पनि बेला कोरोना संक्रमण देखिन सक्ने भन्दै आवश्यक औषधउपकरण,स्वास्थ्यकर्मीहरु सहित सुरक्षा सामाग्री तयारी अवस्थामा राख्न, सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधी तथा उपकरणको नियमित आपुर्ती र सबै खालका बिरामीहरुको सहज उपचार अनि बालबालिकाको खोप सेवाको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
त्यसैगरी लकडाउन लम्बीदै जाँदा खाद्यान्नको अभाव हुन सक्ने संभावना बढेकाले खाद्यन्नको उचित आपुर्ती र भण्डारणको व्यवस्था मिलाउन, अतिप्रभावित मानिसहरुको हातमा मात्रै पुग्नेगरी संयन्त्र निर्माण गरी सुरक्षित रुपमा राहात वितरण गर्ने व्यवस्था मिलाउन , निर्माण व्यवसायी र कम्पनी मार्फत विभिन्न निर्माण कम्पनीहरुमा काम गर्ने मजदुरहरु पैदल हिडेर घर जाने क्रम चलिरहेकाले उनीहरुमा पर्न सक्ने स्वास्थ्य सुरक्षालाई ध्यानमा उचित व्यवस्थापन वा घरसम्म पुग्ने वातावरण निर्माण गर्न सरोकारवाला निकायलाई अपिल गरिएको छ ।
त्यस्तै सानो लापरवाहीले पनि रोग माहामारीका रुपमा फैलनसक्ने खतरा भएकाले आम नागरिकहरुलाई सरकारको आदेश पालना गरी संयमित र सुरक्षित रुपमा सामाजिक दुरी कायम गरी बस्न, लकडाउनको समयमा पनि मानवअधिकारको उचित संरक्षण र संवर्धन गर्न गराउन मानवअधिकार संरक्षण संञ्जाल रामेछापले अपिल गरेको छ । सञ्जाल यो संकटको घडिमा अहोरात्र खट्ने जनप्रतिनिधि, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत धन्यवाद दिएको छ ।