रामेछाप । वैशाख २ गते,
जिल्ला प्रशासन कार्यालय रामेछापले आवश्यकताको पहिचान गरेरमात्रै कोरोना भाइरस प्रभावितहरुलाई राहात वितरण गर्न स्थानीय सरकारलाई अनुरोध गरेको छ । मंगलबार एक सूचना प्रकाशन गरी प्रशासनले लकडाउनको क्रममा अलपत्र परेका मजदुर , विद्यार्थी , विपन्न वर्गले सम्बन्धित वडाबाट राहात नपाएको र आफुखुसी राहात वितरण भैरहेको गुनासो आएको भन्दै यस्ता कार्य तत्काल बन्द गर्न अनुरोध गरेको हो । जिल्ला प्रशासनले प्रत्यका वडामा सम्पर्क व्यक्ति तोकी निवेदन तथा गुनासो संकलन गर्ने व्यवस्था मिलाउँन र कुनै निकाय ,संघ संस्था व्यक्तिले दिने सहायता स्थानीय तहको मापदण्ड अनुसारकोे सामाग्री भएमात्रै स्वीकार गरी वडा स्तरीय समिति मार्फत वितरण गर्न अनुरोध गरेको छ । प्रशासनले नेपाल सरकारको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराउँने राहात सम्बन्धि मापदण्ड २०७६ स्वीकृत भैसकेकाले सोहि अनुसार आवश्यक नागरिकलाई मात्रै राहात वितरण गर्न अनुरोध गरेको छ ।
