रामेछापमा चैत ११ गतेदेखी एक सातासम्म निशेधाज्ञा जारी

  • प्रकाशित मिति: मंगलबार, चैत्र ११ २०७६
  • तामाकोशी

रामेछाप । चैत ११ गते,
कोरोना भाइरस कोडिभ–१९ को संक्रमणबाट बच्न देशभर जस्तै रामेछाप जिल्लामा पनि निशेधाज्ञा जारी गरिएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सोमबार एक सूचना जारी गरी संघिय सरकारको निर्देशन र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार चैत ११ गते मंगलबार बिहान ६ बजे देखी चैत १८ गते बिहान ६ बजे सम्म निषेधाज्ञा जारी गरेकी हुन् । प्रशासनले निषेधाज्ञाको समयमा औषधी उपचार ,खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्तिलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । यस्तै अनुमति प्राप्त सवारी साधन , स्वास्थ्यकर्मी ,सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबहाक सवारी साधन संचालनमा पनि पुर्ण रुपमा रोक लगाएको छ ।जारी निषेधाज्ञामा स्वास्थ्य , सरक्षा,खाद्य वस्तु , खानेपानी , दुध ,विद्युत ,दुरसञ्चार , सूचना तथा सञ्चार,भन्सार , क्वारेन्टाइन , फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय संचालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्रै उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बेलामा तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखलाई विदा दिन भनिएको छ । यस्तै व्यवसायीहरुलाई अनुमति लिएर मात्रै औषधी र औषधीजन्य सामाग्रीहरुको आपुर्तीको व्यवस्था गर्न भनिएको छ । यदि कसैले निषेधाज्ञाको अवहेलना गरे वा काममा वाधा पुर्याए त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने चेतावनी पनि दिइएको छ ।