काठमान्डौ ।
आमाको काख, दिदी/बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्, आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।
आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैङ्गीक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ, निकै विकसीत भनिएका देशहरु पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । तथापि नेपालले भने यसपाला नारी समानतामा एउटा यूगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चालेर देखाइदिएको छ, है ।
आज संसारले यसअर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई वेवास्ता गर्न सक्दैन । तर पनि कमजोर कानूनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गीक संरचनाका कारण दैनिकजसोका समाचारमा महिला हिंसाका कैंयन घटना सार्वजनिक हुन्छन्, कति कानूनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबिच लुकाइन्छ, दबाइन्छ ।
विश्व परिपेक्ष्यको कुरा गर्दा आमा दिवस् या भ्यालेन्टाईन दिवसजस्ता विशेष दिवसहरुमा मानिसहरुले आफ्ना आमा या मायालुलाई ससम्मान स्नेह ब्यक्त गर्ने गर्दछन्, तर आज भने त्यस्ता सम्पूर्ण नारीमय दिवसहरुको समायोजन हो। संसारभरिका मान्छेले वैजनी रगंको रिबन लगाएर पनि आज नारी शक्ति अनि समानताकोलागी एैक्यबद्धता जनाउँदछन् ।
शौचालय देखि सदन सम्म नारी मैत्री स्वरहरु गुञ्जियोस्, फेरि नारी समानता भनेको नारी र पुरुषहरु विचको टक्कर वा द्वन्द्व नभएर अगुवाइ गरीरहेको सामाजिक संरचनाले तोकीदिएको महिला पुरूषबिचको विरोधाभाष परिधि, सीमा अनि समानतामा ठूलो दूरी हो जसलाई चिर्न नवपुस्ताले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।
@हाम्रो पात्रोबाट