रामेछाप । फागुन २४ गते,
जिल्ला प्रशासन कार्यालय रामेछापले विगतमा जस्तो होली पर्वमा भेला हुने , लोलापानी हान्ने वा शरीरमा रंग तथा अविर दलि तरक भडग नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि रामेछापमा पनि सभा–सम्मेलन र भिडभाड जन्य कार्यक्रममा प्रशासनले रोक लगाएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सम्भावित जोखिमप्रति ध्यान दिँदै भेला, बैठकलगायतका सार्वजनिक कार्यक्रममा रोक लगाएको हो । बैठकले सदरमुकाम मन्थलीको मन्थली प्राथमिक स्वाथ्य केन्द्र, तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड तथा आवश्यक एम्बुलेन्स राख्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, जिल्लामा सञ्चालित सञ्चार माध्यमहरूबाट सचेतनामूलक सन्देश प्रसारण गर्ने निर्णय पनि गरिएको छ । मास्कलगायतका स्वास्थ्य सामग्री कसैले कृत्रिम अभाव गराएमा कारबाही गर्ने चेतावनी पनि समितिले दिएको छ । जिल्लाका स्वास्थ्यकर्मीलाई तत्कालको लागि बिदा नदिने निर्णय पनि बैठकले गरेको छ । कोरोना संक्रमणको जोखिमतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको समितिले जनाएको छ । साथै जिल्लाका शैक्षिक संस्थाबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
रामेछापमा सभा–सम्मेलन र भिडभाड जन्य कार्यक्रममा रोक
- प्रकाशित मिति: शनिबार, फाल्गुन २४ २०७६
- तामाकोशी