१७ हजारले गरे रामेछाप महोत्सवको अवलोकन : भोली ज्योती मगर र रामकुमार नेपाली आउँने

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन १३ २०७६
  • तामाकोशी

रामेछाप । फागुन १३ गते,
रामेछापको सदरमुकाम मन्थलीमा जारी दोस्रो रामेछाप महोत्सवको हालसम्म १७ हजार दर्शकले अवलोकन गरेका छन् । यहि फागुन ६ गतेदेखी सुरु भएको महोत्सवको ८ औँ दिन फागुन १३ गते मंगलबार सम्म १७ हजार बढि दर्शकले अवलोकन गरेको महोत्सव प्रचार प्रसार समितिका संयोजक एवं रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेश उदाशले जानकारी दिए । उनले फागुन १४ गते बुधबार चर्चित लोक दोहोरी गायिक ज्योती मगर , रामकुमार नेपाली लगाएतका कलाकार आउँने र १५ गते पनि चर्चित कलाकारहरु आउँने भएकाले दर्शक धेरै बढ्ने बताए । जिल्लाको कृषि, उद्योग र पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरिएको रामेछाप महोत्समा दर्शकहरुको राम्रै उपस्थिति देखिए पनि स्थानीय उत्पादन भने शुन्य जस्तै देखिएको छ । कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फागुन ६ गतेदेखि जिल्ला सदरमुकाममा सुरु भएको १० दिने मेलाबाट स्थानीयले मनोरञ्जन बाहेक अन्य लाभ लिन सकेका छैनन् । मेलामा दैनिक २ हजारदेखि ५ हजारसम्म दर्शकहरु पुग्ने गरेका छन् । मेलामा राखिएका ७० वटा भन्दा बढी स्टमा खासै कृषि उपज र स्थानीय उत्पादन देखिदैन । स्टलहरुमा आयातित सामानहरु मात्र छन् । खाजाका परिकार बनाउने होटलहरु समेत प्रय बाहिरबाट आएका पाइएका छन् ।
सबैभन्दा बढी कमाई पिङले गरेको छ । एक पटक पिङ खेलको एक सय रुपैयाँ शुल्क लाग्ने गरेको छ । यसै गरी दैनिक जसो राष्ट्रिय कलाकारहरु आएर मनोरञ्जन दिई रहेका छन् । कलाकारहरुमा पनि आयोजकको ठूलै खर्च भएको छ । स्थानीय उत्पादनलाई छुट सहित स्टल व्यवस्था गरिएको भए पनि पर्याप्त स्थानीय उत्पादन मेलामा नआएको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसी स्विकार्छन् । उनका अनुसार घरेलु उत्पादनका ५ वटा स्टलहरु स्थानीय छन् भने आलु, माछा, चिया लगायतका केही कृषि उत्पादनका स्टलहरु छन् । कृषि उपजलाई महोत्सवमा ल्याउनको लागि पहल गरेको भए पनि अहिले कृषि उत्पादनको बेसिजन भएकोले पनि पर्याप्त कृषि उपज प्रदर्शनीमा नआएको उनले बताए । मन्थलीको जिल्ला समन्वय समिति पछाडी जारी महोत्सवको आठौँ दिन मंगलबारसम्म १७ हजार जना दर्शकले अवलोकन गरेको महोत्सव प्रचार प्रसार समितिका संयोजक एवं रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेश उदाशले जानकारी दिए । जिल्लाका पर्यटकिय स्थलहरुको परिचय गराउने समेत उद्देश्य लिएको मेलामा सो कुरा भने ओझेलमा परेको छ । महोत्सवको पहिलो दिन मन्थलीदेखि सैलुङसम्म हेलिकप्टरबाट यात्रा गराइएको भए पनि मौशमी प्रतिकुलता जनाउँदै भोलिपल्टबाट हेलिकप्टर फर्किएको छ । अहिले तामकोसीको र्याफ्टीङले मेलामा आउनेहरुलाई मनोरञ्जन दिइ रहेको छ । जिल्लाका पर्यटकिय स्थलहरुको परिचय दिने खालका स्टलहरु समेत महोत्सवमा राखिएका छैनन् । महोत्सवमा आयोजकको भन्दा पनि ठेकेदार र उनीहरुको मानिसहरुको हावावी देखिएको स्थानीयको आरोप रहेको छ । जिल्लाका पर्यटकिय स्थलहरुको परिचय दिने स्टलहरु तथा मन्चबाट उद्घोषण गर्दा समेत त्यस्ता स्थानहरुको परिचयात्मक कार्यक्रम राख्न पाएको भए जिल्लाको पर्यटकिय क्षेत्रको प्रचारमा सहयोग पुग्ने स्थानीयको भनाई छ ।