गोकुल बाँस्कोटाको बाहिरियो अर्को अडियो ! प्रधानमन्त्री ओली तथमस्त – कता जादै छ देश

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ११ २०७६
  • तामाकोशी

११ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :



१. गोकुल बाँस्कोटालाई प्रधानमन्त्रीकै संरक्षण !

काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा एजेन्टसँग ७० करोड कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय सम्हाल्दै आएका गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिइसकेका छन् । ७० करोड कमिशन राख्दा आफ्नो भागमा कति पर्छ ? भन्दै बार्गेनिङ गरेको अडियो सार्वजनिक हुँदा पनि बाँस्कोटाले ‘खाएको विष मात्र लाग्ने’ भन्दै हाक्का–हाक्की सञ्चारमाध्यममा प्रतिक्रिया दिइरहेका थिए । भ्रष्टाचार गर्न लाग्दाको कुराकानी देशभर फैलिसक्दा पनि बाँस्कोटामा अझै त्यो आँट बाँकी रहनुको पछाडि प्रधानमन्त्रीको साथ रहेको प्रष्ट दखिएको छ ।

२. एमसीसी परिमार्जनसहित पारित गर्न कार्यदलको सुझाव

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेञ्ज कर्पोरेशनसँग भएको सम्झौता संसोधन गरेर मात्रै अनुमोदन गर्न नेकपा गठित कार्यदलले सुझाव दिएको छ । शुक्रबार कार्यदलले बुझाएको प्रतिवेदनले एमसीसी यथास्थितिमा अनुमोदन गर्दा नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डतामाथि प्रश्न उब्जिने र गलत नजिर बस्ने भएकाले संसोधन गरेर मात्रै पारित गर्न सुझाव दिएको छ । सम्झौतामा भएको भाषाले नेपाल तल पर्ने कार्यदलको निष्कर्ष छ ।

कार्यदलले मूल सम्झौतामा भन्दा १५ वटा सहायक सम्झौतामा राष्ट्रहित विपरितका गम्भीर सर्त रहेको औंल्याएको छ । सहायक सम्झौताका सर्तले पार्ने दीर्घकालीन असरबारे प्रतिवेदनमा विस्तृत विश्लेषण गरिएको बताइएको छ ।

३. ११ वटा विद्यालयका शिक्षकहरु २० महिनादेखि तलब विहीन !

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका ११ वटा विद्यालयका ११ जना शिक्षकले २० महिनादेखि तलब नै पाएका छैनन् । तत्कालीन जिल्ला शिक्षा कार्यालय अनुदानबाट तलब पाइरहेका शिक्षकहरु स्थानीय निकायले नै शिक्षा क्षेत्रसमेत हेर्ने जिम्मेवारी पाएपछि तलब विहीन भएका हुन् । २० महिनादेखि तलब नपाएपछि विद्यालय सञ्चालनमा मात्रै होइन, शिक्षकको जिविको पार्जनमै समस्या परेको छ ।