काठमाडौं, १० फागुन । गत २२ माघमा पीडित युवतीले डिएसपी राजकुमार खिउजूविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिएकी छिन् । ललितपुर जिल्ला अदालतले पूर्वडिएसपी खिउजूलाई पक्राउ गर्न अनुमति पनि दियो । उनी अहिलेसम्म फरार छन् । पीडित युवतीले भने प्रहरीले खिउजूलाई पक्राउ गर्न ढिलाइ गरेको दाबी गरेकी छिन् । पीडित युवती भन्छिन्,‘जाहेरी हालेको दुई साता बितिसक्दा पनि उनी पक्राउ परेका छैनन् । बरु उल्टै आफ्नो बचाउ गर्दै विभिन्न अनलाइनमा अन्तर्वार्ता दिँदै हिँडेका छन् ।’
उनले काठमाडौंको एक अनलाइन च्यानलमा अन्तर्वार्ता दिएको भिडियो सार्वजनिक भएको छ । प्रहरी वृत्त चापागाउँका पूर्वडिएसपी खिउजूले ०७५ सालको विभिन्न समयमा युवतीलाई यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा खिउजू, उनकी पत्नी, छोरीसमेत मिलेर पीडितलाई धम्की र प्रलोभनमा पारेको भनिएको छ ।
प्रहरीले भने खिउजूको खोजीकार्य जारी रहेको बताएको छ । खिउजूलाई पक्राउ गर्न एउटा टिम बनाएर अगाडि बढेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । दैनिक नेपालमा लेखिएको छ ।