रामेछाप । फागुन ७ गते,
बुधबार ७० औं प्रजातन्त्र दिवस रामेछापमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । प्रजातन्त्र दिवसका अवसरमा सदरमुकाम मन्थलीमा प्रभातफेरी तथा सभाका कार्यक्रम आयोजना गरिएको छ । बाग्मती प्रदेशका आर्थिम मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेल सहित जिल्ला स्थित जनप्रतिनिधिहरु , विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु , सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र विभिन्न विद्यालयका विद्यार्थी , शिक्षक लगाएतको सहभागितामा भएको प्रभातफेरी मन्थली बजार परिक्रमा गरी जिल्ला समन्वय समितीको प्राङगनमा सभामा परिणत भएको थियो । 
कार्यक्रममा जिल्ला समन्वय समिती रामेछापका प्रमुख प्रेम बहादुर खड्काले विभिन्न चरणमा भएका आन्दोलनमा राजनैतिक दल र जनताले गरेको योगदानका कारण संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास भएको बताए । मुलक परिवर्तनका लागि विभिन्न चरणहरुमा भएका आन्दोलनमा सबैले गरेको त्याग , वलिदानी , योगदानका कारण राजनैतिकदल र आम जनताहरुले स्वतन्त्र रुपमा अफ्नो बिचार राख्न पाउँने वातावरण बनेको बताए । उनले मेलमिलाप र सद्भाव कायम गरेर रामेछापको विकास निर्माणलाई अगाडी बढाउँन ७० औं प्रजातन्त्र दिवसले सबैलाई थप ऊर्जा प्रदान गर्ने विश्वास गरे ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले आर्थिक,सामाजिक रुपान्तरण जनताको चाहना भएकाले ती चाहना सम्बोधन गर्न प्रजातन्त्र दिवसले प्रेरित गर्ने बताए । एक सय चार बर्षे जहानिय राणा साशनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गरी सबैलाई स्वातन्त्र बनाउँनका लागि रामेछापमा जन्मिएका शहीदहरुले दिएको बलिदानीलाई सम्मानका साथ सबैले सम्झीनुपर्ने उनको भनाई छ ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुलुकमा प्रजातन्त्र स्थापना गर्नका लागि बलिदानी दिने शहीदहरुप्रति श्रदाञ्जाली व्यक्त गरे । उनले सबैको चाहाना राष्ट्रिय एकता, ऐकेवद्धता , सहिष्णुता ,भौगोलिक अखण्डता , दिगो शान्ति र सुशासन भएकाले यसलाई स्थापित गर्नका लागि सबैले आफ्नो कर्तव्य नभुली लाग्नुपर्ने बताइन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान , नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की , समाजवादी पार्टीका जिल्ला अध्यक्ष सोनाम ग्यापक लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समिती रामेछापका प्रमुख प्रेम बहादुर खड्को अध्यक्षता र बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 
रामेछापमा ७० औं प्रजातन्त्र दिवसः मेलमिलाप र सदभाव कायम गरी विकास निर्माणमा लाग्न ऊर्जा
- प्रकाशित मिति: बुधबार, फाल्गुन ७ २०७६
- तामाकोशी