दोस्रो रामेछाप महोत्सव (२०७६)को तयारी तिब्र ( महोत्सवकोे पूर्वसन्ध्यामा सिङगारिदै मन्थली )

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ४ २०७६
  • तामाकोशी

रामेछाप । फागुन ४ गते,
रामेछापको सदरमुकाम मन्थलीको बजार क्षेत्र अहिले रङगीन बनेको छ । ८ वटा स्थानीय तहको केन्द्रबिन्दु मन्थली अहिले रङगी बिरङगी ध्वजा पतकाले रङगमय बनेको छ । सानो बजार तर सवारी तथा ढुवानीका साधन बाक्लै गुड्ने र सडक किनारमा हिड्ने पैदल यात्रीहरुको भिडलाई हेर्दा मन्थली बजार निकै ब्यस्थ बजार हो । अहिले मन्थली बजारको  तीनतले होटेलदेखि मदन आश्रित चोक सम्म सडक सरसफाइ गरी विभिन्न रङगका सजावटका सामाग्रीले सिगार्ने काम भैरहेको छ । जसका कारण मन्थली बजार क्षेत्रको सौन्दर्य अहिले उत्साहजनक र रोमाञ्चक बनेको छ । यो उत्सायीत कार्यले अहिले बजारबासी र जिल्ला स्थित सरोकारवालाहरुलाई थप उत्साहीत बनाइरहेको छ । बजारबासीहरु दैनिक आफ्नो घर तथा पसल अगाडीका सडक क्षेत्रको सरसफाईमा जुटेका छन् भने सरोकारवाला निकाय सम्बन्धीत निकायसंग समन्वय गरेर बजारको थप सरसफाई र सजावटमा जुटेका छन् ।
हो साच्चै यहि फाुगन ६ गतेदेखी १५ गते सम्म संचालन हुन लागेको दोस्रो रामेछाप महोत्सवले मन्थली बजार बासी र जिल्ला स्थित सरोकार राख्ने निकायलाई मात्रै हैन जिल्लाका सवै स्थानीय तह तथा सर्वसाधारणलाई उत्साहित बनाएको छ । सोहि उत्साहालाई सफलीभूत पार्न अहिले महोत्सवको तयारीलाई पनि तिब्र पारिएको छ । १० दिन सम्म जिल्ला समन्वय समितिको भवन पछाडिको खेल मैदानमा संचालन हुने महोत्सवको तिब्र रुपमा तयारी भइरहेको महोत्सव प्रचार प्रसार समितिका संयोजक एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदाशले जानकारी दिए । उनका अनुसार अहिले स्टेज र इस्टल बनाउने काम र रोटे पिङ, ड्रागन ,बालबालिका खेल्ने ठाउँ बनाउने कामहरु पनि अन्तिम चरणमा पुगेका छन् । महोत्सवमा धेरै भन्दा धेरै पाहुना भित्र्याउनको लागि प्रचार प्रसारलाई तिब्रता दिइएको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन केसीले बताए । उनले महोत्सवको जिल्ला स्थित सबै एफ.एम रेडियो , पत्रिका , अनलाईन माफर्त प्रचार प्रसार गरिएको र विभिन्न स्थानमा बोर्ड , ब्यानर राखी र जिल्लाका सबै स्थानीय तहमा माइकिङ मार्फत पनि प्रचार प्रसार गरिएको बताए ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउने र जिल्लाबासी तथा जननिर्वा्चित जनप्रतिनिधिसँग सामाजिक सम्बन्ध कायम गराउने उद्देश्यका साथ जिल्ला भित्रका विभिन्न जातजातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने गराउने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न हेलिकप्टरबाट मन्थली शैलुङ उडान भर्ने, स्थानीय कलाकार तथा अतिथि कलाकारबाट प्रत्येक दिन गायन नृत्य सम्मान सहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग रामेछापको वृतचित्र प्रद्धशनी मुख्य आकर्षणहरु रहेको महोत्सवमा ६९ ओटा स्टल रहेको र अहिले सम्म ४० बढी इस्टलहरु बुकिङ भइसकेको आयोजकले बताएको छ । कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघ, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेका छन् ।