एजेन्सी– कोरोना भाइरसका कारण फ्रान्समा एकजनाको मृत्यु भएको छ। चीनको हुबेई प्रान्तबाट फ्रान्स पुगेका ८० वर्षीय एक पर्यटकको मृत्यु भएको फ्रान्सका स्वास्थ्यमन्त्री एग्नेस बुजिनले जानकारी दिएका छन् । चिनियाँ पर्यटक गत १६ जनवरीमा फ्रान्स पुगेका थिए। उनलाई २५ जनवरीमा पेरिसको अस्पतालमा क्वारेन्टाइनमा राखिएको थियो।
कोरोनाबाट चीनबाहिर मृत्यु भएको यो चौथो घटना हो। यसअघि हङकङ, फिलिपिन्स र जापानमा संक्रमितको मृत्यु भएको थियो। फ्रान्समा ११ जना संक्रमित भएको तथ्यांक छ। हुबेईको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म १६०० भन्दा बढी मानिसको मृत्यु भइससकेको छ भने ६८ हजारभन्दा बढी संक्रमित भएका छन्।
चीनका विदेशमन्त्री वाङ यीले हुबेईको संक्रमण अझै बढी प्रभावकारी रुपमा व्यवस्थित गरिएको र महामारी नियन्त्रणमा आउने संकेत देखिएको जनाएका छन्। जर्मनीको एउटा सुरक्षा सम्मेलनमा सम्बोधन गर्दै उनले शुक्रबारमात्र ८ हजार मानिस संक्रमणमुक्त भएको जानकारी दिए।