दोस्रो रामेछाप महोत्सव ( २०७६ ) को तयारी तिव्र ( कस्तो बन्दै छ महोत्सव स्थल हेर्नुहोस् )

  • प्रकाशित मिति: बुधबार, माघ २९ २०७६
  • तामाकोशी

रामेछाप । माघ २९ गते,
रामेछाप सदरमुकाम मन्थलीमा आगमी फागुन ६ गतेदेखी १५ गतेसम्म संचाालन हुने दोस्रो रामेछाप महोत्सव ( २०७६ ) को तयारी तिब्र रुपमा भैरहेको छ । मन्थली नगरपालिकाको मुख्य प्रायोजन र सामाजिक सशक्तिकरण नेपाल मन्थलीको सह–आयोजनामा विभिन्न स्थानीय तह तथा निकायको सहयोगमा रामेछाप उद्योग बाणिज्य संघले दोस्रो रामेछाप कृषि, पर्यटन, सास्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६ अयोजना गर्दै छ । आन्तरिक सहित बाह्य पर्यटकलाई भित्र्याउने, जिल्लावासी तथा जनप्रतिनिधीसँगको सम्बन्ध नजिक बनाउँने , घरेलु उदोगको प्रवद्र्धनमा टेवा पुर्याउने , जिल्लामा लगानीको बातावरण सिर्जना गर्ने जस्ता उद्देश्य राखेर आयोजना गर्न लागेको महोत्सवको तिब्र रुपमा तयारी भैरहेको महोत्सव सूचना तथा प्रचार प्रसार समितिका संयोजक एवं रामेछाप उद्योग बाणिज्य संघ रामेछापका सचिव सुरेश उदाशले जानकारी दिए । उनले अहिले महोत्सव स्थल जिल्ला समन्वय समिति रामेछापको भवन पछाडी स्टल बनाउँने , स्टल बुकिङ गर्ने गराउँने काम भैरहेको बताए । उनका अनुसार महोेत्सवका लागि हेलिकप्टर , राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको व्यवस्थापन गरिसकिएको छ भने नेवार , तमाङ , माझी र मगर समुदायको संस्कृति झल्कने झाकी नाचका लागि आवश्यक व्यवस्थापन भैसकेको छ ।
१० दिनसम्म चल्ने महोत्सवमा जिल्लामा रहेका विभिन्न जातजातिका सँस्कृति झल्कने झाँकी प्रदर्शन, कृषि उपज प्रदर्शन, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन गरिने छ । त्यसैगरी महोत्सवमा शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हेलिकप्टरबाट मन्थली शैलुङ उडानको व्यवस्था , स्थानीय कलाकार तथा अतिथि कलाकारबाट प्रत्येक दिन गायन नृत्य सम्मान सहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग रामेछापको वृतचित्र प्रद्धशनी गर्ने गराउने कार्यक्रम लगाएत समावेश गरिने छ । “कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान” भन्ने मूल नारा दिइएको महोत्सवमा कुल ४७ लाख २० हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।