जिल्ला प्रशासनको कार्यक्षत्रभित्र पर्ने काममा कुनै कमि हुन दिन्न : प्रजिअ शर्मा

  • प्रकाशित मिति: आइतबार, माघ २६ २०७६
  • तामाकोशी

रामेछाप । माघ २६ गते,
रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रशासनको कार्यक्षत्रभित्र पर्ने काममा कुनै कमि हुन नदिने बताएकी छिन् । आइतबार रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आएपछि पहिलो पटक पत्रकारहरुसंग भेटघाट गरी उनले यस्तो बताएकी हुन् । उनले महिला बालबालिका तथा जेष्ठ नागरिकका क्षेत्रमा काम गरेको आफ्नो अनुभव रहेकाले जिल्लामा यो क्षेत्रमा प्रभावकारी काम हुने बताइन् । उनले जिल्लामा हुने सबै किसमका हिंसा न्युनिकरणका लागि जिल्ला प्रशासनले प्रभावकारी काम गर्ने वताइन् । यो बर्षलाई सरकारले पनि लैङगीक हिंसा विरुद्धको अभियान बर्षका रुपमा घोषणा गरेकाले यसलाई सफल पार्ने गरी काम गर्ने उनको भनाई छ । उनले जिल्ला प्रशासनको दायित्वभित्र पर्ने कामलाई प्रभावकारी बनाउँनका लागि स्थानीय सरकार लगाएत जिल्ला स्थित सरोकारवाला निकायसंग समन्वय गरेर अगाडि बढ्ने बताइन् । उनले जिल्लाका पत्रकारहरुलाई प्रशासन र नागरिकबिच पुलको रुपमा काम गरिदिन आग्रह पनि गरिन् । कार्यक्रममा सहभागि पत्रकारहरुले जिल्लाको सुरक्षा सम्वेदनशिलता, स्थानीय सरकारको निगरानी , बजार अनुगमन, सडक सुरक्षा , लैङगीक हिंसा न्युनिकरण लगाएतका क्षेत्रलाई मध्यनजर गरी प्रभावकारी योजना बनाई काम गर्न सुझाव दिएका थिए ।