रामेछापको मन्थलीमा करदाता सेवा कार्यालय स्थापना हुँदै

  • प्रकाशित मिति: शनिबार, माघ २५ २०७६
  • तामाकोशी

रामेछाप । माघ २५ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । रामेछाप उद्योग बाणिज्य संघको बि.स.२०६३ साल देखिको पहलमा जिल्लाको करदाताहरुलाई मध्यनजर गरी मन्थलीमा करदाता सेवा कार्यालय स्थापन हुन लागेको हो । नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट सिफारिस भएपछि करदाता सेवा कार्यालय स्थापना हुने भएको हो । जिल्लाको उद्योगी व्यवसायीहरुको सेवालाई मध्यनजर गरी चालु आर्थिक बर्षको फागुन महिनाभित्र करदाता सेवा कार्यालय संचालन गरिने रामेछाप उद्योग बाणिज्य संघका सचिवालय कार्यकारी अधिकृत नविन केसीले जानकारी दिए । सेवा कार्यालय संचालन भएपछि व्यवसायीहरुलाई प्यान दर्ता, वार्षिक आय विवरण, कर चुक्ता लगायतका काम गर्न धुलीखेल जानु नपर्ने उनको भनाई छ । रामेछाप उद्योग वाणिज्य संघले बिगत लामो समयदेखी जिल्लाका करदाताहरूको हितको लागि करदाता सेवा कार्यालय स्थापना गर्न माग गर्दै आन्तरिक राजश्व विभाग, नेपाल उद्योग वाणिज्य महासंघमा लगायतका निकायमा पहल गरीरहको थियोे ।