मन्थली बचत स्थापना भएको २३ बर्ष पुरा

  • प्रकाशित मिति: सोमबार, माघ २० २०७६
  • तामाकोशी

रामेछाप । माघ २० गते,
रामेछापको सदरमुकाम मन्थलीमा संचालित मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको २३ बर्ष पुरा भएको छ । संस्थाले आफ्नो स्थापनाको २३ बर्ष पुरा भएको अवसरमा सोमबार मन्थलीमा एक कार्यक्रमको आयोजना गरी आफ्नो कार्य सम्पादनको अवस्थाका बारेमा जानकारी गराएको छ । सहकारी संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुवदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको २३ वर्षे अवधीमा ८५ करोड रुपैयाँ पूँजी भएको जानकारी गराइएको थियो । संस्थाका कोषाध्यक्ष टीकाप्रसाद भट्टले सहकारीले यो अवधीमा ८५ करोड कुल पूँजी, साँढे ६७ करोड बचत, ८ करोड ७० लाख शेयर रकम र ६२ करोड रुपैयाँ ऋण लगानी गरेको जानकारी गराएका थिए । संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुवेदीले सहकारीले आर्थिक अवस्था कमजोर भएकाहरुको जीवन स्तर उकास्न आर्थिक तथा क्षमता विकासमा भुमिका खेलेको बताए । संस्थाका सचिव गोविन्द घिमिरेले सदस्यहरुलाई थप सहज बनाउँन चाडै एटिएमको व्यबस्था गरिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य बद्री नयँघरे , नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, संस्थाका उपाध्यक्ष रामचन्द्र वियोगी र लेखा सुपरिवेक्षण समितिका संयोजक टंक प्रसाद दाहालले पनि आफ्नो धारणा राखेका थिए । बरिष्ठ साहित्यकार स्व. जगदीश घिमिरेको अगुवाईमा २०५४ सालमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको हाल १३ हजार १८ जना कुल सदस्य छन् । तामाकोशी सेवा समितिमा कार्यरत ११ जना अगुवाहरुले ११ हजार पूँजीबाट सुरु गरेको यो सहकारीले आर्थिक वर्ष २०७६÷०७७ भित्र एक अर्ब पूँजी र्पुयाउने लक्ष्य लिएको छ ।