लेबनान लैजान्छु भनेर काठमाडौं ल्याई ह्विस्कीको बोतलले हिर्काएर यिनैले गरेका हुन् हत्या,को हुन यी पुरुष ?

  • प्रकाशित मिति: बिहिबार, माघ १६ २०७६
  • तामाकोशी

आफूसँगै आएका साथीलाई हत्या गरेको अभियोगमा एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ढाकाका ४५ वर्षीय मुहाउद्दिन अहमद परवेजलाई हत्या गरेको अभियोगमा उनकै साथी ४४ वर्षीय दुला मिया पक्राउ परेका हुन् । सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्लाको ११४ नम्बर कोठामा बसेका दुबैबीच विवाद भएपछि परवेजलाई दुलाले टाउकोमा ह्वीस्कीको बोतल प्रहार गरी हत्या गरेको थाहा भएको छ।

माघ ६ गते बंगलादेशबाट दुबै जना हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका थिए। ७ गते दुबै बाहिर गएर पुन: कोठामै फर्के । त्यही दिन बेलुका दुला बाहिर निस्केपछि फर्केनन्। कर्मचारीलले भोलिपल्ट कोठामा गएर हेर्दा परवेज मृत भेटिएका थिए । प्रहरीका अनुसार ह्विस्कीको बोतलले तीन पटक टाउकोमा प्रहार गरेर दुलाले साथीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।



साथीको हत्या गरेर दुला सोल्टी पछाडिबाट बाफल हुँदै कंलकी पुगेर बेलुका रात्रीबस चढेका थिए। उनी वीरगन्ज पुगेको र बोर्डरतर्फ गएको देखिएको छ । त्यहाँबाट उनी बुधबार काँकडभिट्टा पुगे। उनी भारत प्रवेश गर्न खोजेका थिए। त्यहाँबाट उनी काठमाडौं नै फर्किएका थिए ।

यसरी पटक-पटक भारत छिर्न खोजेका उनी किन जान सकेनन् भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । काँकडभिट्टाबाट रात्रीबस चढेर काठमाडौं आउँदै गरेको दुलालाई राति १० बजे इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार मृतक र दुला ओशन ट्राभल्स एण्ड टुर्समार्फत् टिकट काटेर काठमाडौं आएको देखिएको छ। परवेजले दुलासँग तीन वर्षअघि लेबनान पठाउन भनी तीन लाख टाका लिएको बुझिएको छ । लेबनान पठाउन भनी परवेजसँग उनले पैसा लिएको देखिएको छ। दुलाले बंगलादेशबाट पठाउन नसकेपछि काठमाडौं ल्याएका थिए । काठमाडौं ल्याए भिसा नलागेपछि दुबैबीच विवाद भएको देखिएको प्रहरीले जनाएको छ । यही विवादका क्रममा ह्विस्कीको बोतलले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धान प्रहरीको छ ।

परवेजको शव पोष्टमार्टम गरी बंगलादेश राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइएको छ । दुलालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको परिसरले जनाएको छ।