चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका ११ वर्षीय इशक सुनारको ज्यान गएको हो । गाउँमा भएको छेवरको भोज खाएर फर्कने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो । आमासँगै रहेका बेला चितुवाले बालकलाई झम्टेर लिएर गएको थियो । घर नजिकै पुग्ने बेलामा चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा ८० मिटर तल खोल्सामा फेला परेको थियो ।
चितुवाको आक्रमणबाट तनहुँमा २० महिनाको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ । यसअघि चितुवाको आक्रमणबाट भानु नगरपालिकामा छ, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।