सिद्द्बाबा फरार ! अदालतले दियो जेल पठाउने आदेश

  • प्रकाशित मिति: बिहिबार, माघ ९ २०७६
  • तामाकोशी

उच्च अदालत विराटनगरले बलात्कार आरोपमा सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको छ। जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले बिहीबार साँझ यस्तो आदेश दिएको हो। न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गत पुस १४ गते सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए। सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए।

उच्च अदालतबाट जिल्लाको आदेश बदर गरी सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए। उच्चको आदेशपछि जिल्लाले दिएको आदेश बदर भएको छ। उच्च अदालत विराटनगरमा आफूविरुद्धको जवरजस्ती करणी मुद्दाको सुनुवाइ चलिरहेका बेला सिद्धबाबा भने बिहीबार दिउँसो भारततिर भागेका छन्। सरकारले उपलब्ध गराएका निजी सुरक्षा गार्डलाई नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाएर उनी भारत भागेका हुन्।



विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ गरेको स्रोतको दाबी छ। सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो चढेर भारततिर लागेका हुन्। उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो। स्रोतका अनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हवल्दार अन्योलमा परेका छन्।

केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए। अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पारेका हुन्। जतिबेला उनी विरुद्धको मुद्दाको सुनुवाइ अदालतमा जारी थियो।

‘हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमामा झारेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, ‘उनी किन उता लागे भन्ने बारेमा एकिन भइसकेको छैन।’स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो। सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए।

उनी भारततर्फ जानुलाई अर्थपूर्ण रुपमा हेरिएका बेला अदालतको आदेश पनि उनी अनुकूल आएन। स्रोतका अनुसार सुनुवाइपछि आउने अदालतको आदेशको पर्खाइमा उनी थिए। आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर ‘सुटुक्क’ लागेको बताइएको छ।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।अन्नपूर्ण पोस्टबाट साभार,