अमेरिकी भिसाकाे लागि नयाँ नियम: पाँच वर्षको सामाजिक सञ्जाल रेकर्ड दिनुपर्ने

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २० २०७६
  • तामाकोशी

अमेरिकी सरकारले आफ्नो नागरिकको सुरक्षालाई ध्यानमा राखेर भिसा नियममा परिवर्तन गर्दै एक नयाँ सूचना जारी गरेको छ ।

अमेरिकी गृह मन्त्रालयले जारी गरेको नयाँ नियम अनुसार अब भिसाका लागि आवेदन गर्नेले सामाजिक सञ्जाल एकाउन्टको नाम र त्यसको पाँच वर्षको रेकर्डको जानकारी पनि गराउनुपर्नेछ ।



यसको अलावा आवेदकहरुले आफ्नो इमेल खाता र फोन नम्बर पनि दिनुपर्ने हुन्छ । अमेरिकी सरकारले जहिले चाहन्छ, त्यही समयमा आवेदकहरुको एकाउन्ट जाँच गर्न सक्छ ।

भिसा आवेदनकर्ताहरुसँग पछिल्लो १५ वर्षको उसको जीवन र शरीरमा आएको परिवर्तनको बारेमा पनि सोध्न सकिन्छ । तर केही कुटनीतिक र आधिकारिक भिसा आवेदकहरुलाई भने यो नयाँ नियमबाट छुट दिइनेछ ।

‘कडा राष्ट्रिय सुरक्षाको लागि आफ्नो देशभित्र आउने हर नागरिकको बारेमा सही सूचना र ठोस जानकारी हासिल गर्नुपर्दछ,’ अमेरिकी प्रशासनले भनेको छ । तर शिक्षासँग जोडिएका अधिकारी र शैक्षणिक समूहले भने नयाँ नियमको विरोध गरेका छन् ।

एक अधिकारीका अनुसार, आफ्नो सामाजिक सञ्जालको गलत र झूटो जानकारी दिनेले गम्भीर सजाय भोग्नुपर्नेछ । ट्रम्प सरकारले सबैभन्दा पहिला सन् २०१८ को मार्चमा यो प्रस्ताव पेश गरेको थियो ।

नयाँ नियम अनुसार, भिसाका लागि के के चाहिन्छ रु

१। पाँच वर्षको सामाजिक सञ्जालको रेकर्ड
२। आफ्नो पुरानो पासपोर्टको व्यहोरा र नम्बर
३। पाँच वर्षको अन्तरालमा प्रयोग गरिएको इमेल खाता र फोन नम्बर
४। १५ वर्षको आफ्नो वैयक्तिक जानकारी आदि ।