काठमाडौँ । जेठ १६ गते,
पूर्वमा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म रामेछाप सहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यमखालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।
उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म रहने बताइएको छ । राति देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भएपनि देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ ।
शुक्रबार देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुनेछ । त्यस्तै, पूर्वी तथा मध्य भागका केही स्थान र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनसम्म रामेछाप सहित देशभर मौसम परिवर्तन हुने
- प्रकाशित मिति: बिहिबार, जेष्ठ १६ २०७६
- तामाकोशी