१२ जेठ, काठमाडौं । धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो ।
गम्भीर घाइते उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका इन्सपेक्टर अशोक जबेगुले जानकारी दिए । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ ।
यो पनि पढ्नुहोस :
१२ जेठ, काठमाडौं । राजधानीको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा आइतबार दिउँसो तीनजनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । दुबै घटनामा प्रतिबन्धित पार्टी नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बम बनाउने क्रममा विस्फोट भएको पाइएको प्रहरीले जनाएको छ ।
सुकेधारा विस्फोटमा घाइते भई ओम अस्पतालमा उपचाररतमध्ये नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले प्रहरीलाई त्यही वयान दिएका छन् । ‘महर्जनले बम बनाउने क्रममा विस्फोट भएको बयान दिएका छन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले अनलाइनखबरसँग भने ।
सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुईजनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । पक्राउ परेका सुरेन्द्रले प्रहरीलाई बताए अनुसार सुकेधारामा उनीसहित ६ जनाको समूह थियो । उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए । दुईजना भने नयाँ रहेको सुरेन्द्रले प्रहरीलाई वयान दिएका छन् ।
शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन् । मृतक को–को हुन् भन्ने खुलेको छैन ।
विद्यार्थीको डेरामा बिस्फोट
सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको खुलेको छ ।
विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ । त्यही क्रममा विभिन्न स्थानमा बम राख्न बनाइएको र त्यही क्रममा विस्फोट भएको पाइएको छ । टाइम र रिमोर्टसमेत नभेटिएकाले बम बनाउने क्रममै विस्फोट भएको प्रहरीको विश्लेषण छ । अनलाइन खबरबाट साभार