रामेछापमा ६१ जना सरकारी कर्मचारी कार्यालयमा अनुपस्थीत, कार्यालय पोषाकमा पनि मनलाग्दी

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १२ २०७६
  • तामाकोशी

रामेछाप । जेठ १२ गते,
रामेछाप जिल्लाका विभिन्न सरकारी कार्यालयहरुका ६१ जना भन्दा बढी कर्मचारीहरु कार्यालयमा अनुपस्थीत भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार गरेको छड्के अनुगमनका क्रममा १९ वटा सरकारी कार्यालयमा कार्यरत ६१ जना कर्मचारीहरु कार्यालय समयमा कार्यालय नआएको पाइएको हो । सदरमुकाम मन्थलीमा संचालनमा रहेको सरकारी कार्यालयहरुका कर्मचारीहरु कार्यालय नआउँने , आएका कर्मचारीहरु पनि परिचयपत्र एवं कार्यालय पोषक नलगाई आउँने गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीको ठाडो निर्देशनमा छड्के अनुगमन गरिएको हो । कार्यालय नआउँने र परिचयपत्र एवं कार्यालय पोषक नलगाई कार्यालयमा आउँने कर्मचारीहरुलाई नियम अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । अहिले रामेछाप जिल्लाका सरकारी कर्मचारीहरुलाई बार्षिक १० हजारका दरले नेपाल सरकारले पोषाक भक्ता उपलव्ध गराउँदै आएको छ । तर अधिकांस कर्मचारीहरु भने कार्यालय समयमा कार्यालय पोषाकको मतलवनै नगरी मनलाग्दी पाराले कार्यालय आउँने गरेका छन् ।