रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा सात वटा सरकारी भवन सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेको छ । भुकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने क्रममा ठेकेदार व्यवसायिले आफुहरुसंग भएको सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेको हो ।
सुनकोसी/ खानी/ थोदुङ जेभी नामक निर्माण कम्पनीले जिम्मा लिएको १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँको सझौता भएकोमा १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तिस रुपैयाँमै निर्धारित गुणस्तरको भवन निर्माण सम्पन्न गरेको निर्माण व्यवसायी रामबावु घिमिरेको भनाई छ । यसरी हेर्दा बाँकी रकम करिब ३९ लाख ८५ हजार आठ सय तेह्र रुपैयाँ राज्यकोषमा रकम बचेको छ ।
तिन वटा सरकारी कार्यालयहरु खानेपानी डिभिजन कार्यालयको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय बयासी रुपैयाँ, शहरी विकास फिल्ड कार्यालयको लागि ५ करोड ७६ लाख ७२ हजार एक साय चार रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवासको लागि २ करोड २४ लाख ३७ हजार चवालिस रुपैयाँ रकम खर्चेका छन् ।
राष्ट्रिय पुणर्निर्माण प्राधिकरणबाट भुकम्प पश्चातको पुणर्निर्माण अन्तर्गत एसियाली विकास वैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानी साझेदारीमा उक्त भवनहरु निर्माण भएको हो । निर्माण सम्पन्न भवनहरु कार्यालय प्रयोजन, आवास, क्यान्टीन, ग्यारेज र फर्निचरको सुविधा तथा अपाङ्ग मैत्री रहेका छन् ।
निर्माण सम्पन्न भएका उक्त भवनहरु राष्ट्रिय पुणर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका आयोजना प्रमुख प्रभाकरलाल कर्णले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई शुक्रबार चावि हस्तान्तरण गरेका छन् ।

