सिन्धुलीको कमलामाई नगरपालिकामा न्यायिक समिती मार्फत ३७ विवाद निरुपण

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ८ २०७६
  • तामाकोशी

सिन्धुली । जेठ ८ गते,
सिन्धुलीको कमलामाई नगरपालिकाको न्यायिक समितिले ३७ वटा विवाद निरुपण गरेको छ । अहिलेसम्म न्यायिक समितिमा जम्मा ८२ वटा विवाद परेकोमा ३७ वटा विवादको समाधान भएको न्यायिक समितिका संयोजक मञ्जु देवकोटाले जानकारी दिइन । जसमा २३ वटा विवाद विचाराधिन अवस्थामा रहेको उनले बताइन् । २२ विवादको भने विवादित पक्ष तारेख छोडी बसेको उनले बताईन् । न्यायिक समितिमा जग्गाको खिचलो ४४ वटा, लेनदेनको ११ वटा, पर्खाल भत्काई पाउ १ वटा, घर निर्माण रोक्का ४ वटा, बाटो विवाद ७ वटा सेफ्टी ट्यांक विवाद २ वटा र बाल शिक्षाको नतिजा प्रकाशन गराई पाउन सम्बन्धिको १ वटा विवाद परेको न्यायिक समिती संयोजक देवकोटाले बताइन् । घर खाली गराई पाउ १ वटा, पुजारी हटाई पाउ १ वटा, घरेलु हिंसा गरेको १ वटा, गाली बेइजत गरेको २ वटा, घर बहाल असुल गराई पाउ १ वटा, नक्शा पास रोक्क गराई पाउ १ वटा, घर भत्काई अन्याय गरेको १ वटा, खान लाउन नदिएको २ वटा, बलेसीबाट पानी झारी दिएको १ वटा र पारिश्रमिक दिलाई पाउ १ वटा रहेको उनले बताइन् । कमलामाई नगरपालिकामा सामाजिक सद्भाव, मेलमिलाप, शान्ति र अमन चयनमा अभिवृद्धि गर्न, नगरबासी जनतालाई अदालत धाउदा हुने आर्थिक व्यय भार, अनुत्पादक खर्च, दुःख हैरानीलाई कमि गर्नको लागि न्यायिक समितिले काम गरिरहेको संयोजक देवकोटाले बताए । साथै उनले नगरभित्र देवानी प्रकृतिका कुनै पनि विवाद भए न्यायिक समितिमा आउन आग्रह समेत गरिन् ।