रामेछाप सदरमुकाम मन्थलीमा स्वीमिङ  पुल बन्दै

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ८ २०७६
  • तामाकोशी

रामेछाप । जेठ ८ गते,
धेरै गर्मी हुने रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा स्वीमिङ पुल बन्ने भएको छ । मन्थली नगरपालिकाले मन्थलीको हाटेचौरमा २ सय रोपनी क्षेत्रफलमा पार्क सहितको स्वीमिङ पुल निर्माण गर्ने योजना बनाएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले यही जेठ महिनाभित्र नै पार्क सहितको स्वीमिङ पुल निर्माण गर्न ठेक्का आह्वान गर्ने तयारी भइरहेको बताए । उनका अनुसार महिला, पुरुष र बालबालिकाको लागि तीन वटा स्वीमिङ पुल बन्नेछ । हाल पार्क सहितको स्वीमिङ पुलको गुरु योजना निर्माणको काम अन्तिम चरणमा पुगेको नगर प्रमुख बस्नेतको भनाई छ । नगरप्रमुख बस्नेतले आफ्नै कार्यकालमा स्वीमिङ पुल निर्माणको काम सम्पन्न गर्ने गरी तीब्र गतिमा काम अगाडि बढाउने लक्ष्य राखेको बताए । केन्द्र सरकारको ४ करोड र मन्थली नगरपालिकाको ६ करोड गरी १० करोड लगानीमा स्वीमिङ पुल निर्माण हुन लागेको हो ।