• प्रकाशित मिति: मंगलबार, जेष्ठ ७ २०७६
  • तामाकोशी

काठमाडौं-प्रहरीका अनुसार सुरुमा आत्महत्या गर्ने मानबहादुरका ससुरा, सासु, श्रीमतीसहित पाँच जनाको हत्या भएको देखिन्छ । त्यही घरबाट १२ वर्षीय सीता भाग्न सफल भएकी थिइन् । पाँच जनाको हत्यापछि आत्महत्या गर्ने मानबहादुरकै साढुदाइ धनराज शेर्माको परिवारका चार जनाको हत्या भएको छ । श्रीमती मनकुमारीसहित ९ जनाको हत्या लगत्तै मानबहादुरको शव झुन्डिएको अवस्थामा भेटियो । परिवारमा बेमेल भए पश्चात श्रीमती मनकुमारी मानबहादुरलाई छाडेर माइतीघरमा बस्दै आएकी थिइन् । मानबहादुर भने मिक्लाजुङ–७ को घरमा एक्लै बस्दै आएका थिए ।

श्रीमतीले छाडेपछि मानसिक रुपमा विज्ञिप्त बनेका मानबहादुरले नै हत्या गरेको हुन सक्ने भन्दै प्रहरीको अनुसन्धान उनीतर्फ नै मोडिएको छ । पाँचथरको मिक्लाजुङमा भएको नौं जनाको हत्या र लगत्तै संदिग्घ एक जनाको आत्महत्याको घटना राति कति बजेतिरको हो भन्ने पनि खुलेको छैन । स्थानीयले पनि विहान मात्रै पत्ता पाएको छ ।



घटना थाहा भएलगत्तै घटनास्थलबाट दुई किलोमिटर परको दशमी चौकीको प्रहरी टोली विहान ४ बजे घटनास्थल पुग्यो । त्यसपछि १० किलोमिटर पर रहेको इलाका प्रहरी कार्यालय रविको टोली पुग्यो । क्रमशः फिदिम र विराटनगरबाट प्रदेश १ को प्रहरी पुगेपछि मात्रै यत्रतत्र छरिएका र रगतको आहालमा डुबेका शब संकलन गरिएको थियो । हत्या गरिएका प्रायः सबैको अनुहार छ्याक–छ्याक पारिएको थियो ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम विहान सबेरै घटनास्थल पुगे । हत्याकाण्डमा बच्न सफल सीता बमबहादुरकै जेठी छोरीकी छोरी हुन् । जो धनकुटा घर भएपनि मामाघर बसेर पढ्दै थिइन् । भागेर छिमेकीको घरमा आश्रय लिएको भनेपछि सीताले तत्कालै घटनाबारे आफू पुगेको घरका मान्छेलाई जानकारी दिएको हुनुपर्छ ।

पाँच–पाँच जनाको हत्या हुँदा पनि छिमेकीले सुइको नपाउनु र सीताले जानकारी गराउँदा पनि चुप बस्नुलाई प्रहरीले रहस्यमय ठानेको छ । जसबारे केन्द्रीय अनुसन्धान ब्यूराले मिहिन अनुसन्धान गर्ने घटनास्थलमा रहेका प्रहरी बताउँछन् । हत्या भएका धनराज शेर्माको घरमा केही दिन अघि नूनमा शिशाको धुलो मिसाइएको पाइएको थियो । नूनमा मिसाइएको शिशाको धूलो शेर्मा परिवारका सदस्यसहित ८ जनाले खाजामा खाएका थिए । त्यसपछि उपचारका लागि अस्पताल पुगेकामध्ये २ जना अझै फर्किन बाँकी छ ।

नूनमा कसले शिशाको टुक्रा मिसायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बेला शेर्मासहित उनको ससुराली परिवारको सामूहिक हत्या हुनुले षड्यन्त्र पहिलादेखि नै जारी थियो भन्ने आधारलाई थप बल पु¥याएको छ । अघिल्लो षड्यन्त्रका सुत्राधार मानबहादुर नै थिए कि अरु नै भन्ने पनि खुल्न नपाउँदै विभत्स हत्याकाण्ड भएको छ ।

मानबहादुरकै आत्महत्याले ९ जनाको हत्यामा उनकै संलग्नताको आधार फराकिलो पारेपनि घटनास्थलको प्रकृतिबारे जानकार स्थानीयसहित केही प्रहरी अधिकारी घटनामा पेशेवर हत्याराको सहभागि रहेको हुन सक्ने औंल्याउँछन् । जुन थप अनुसन्धानको अर्को पाटो हो ।
https://youtu.be/RrCy0H7eSvw