पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेका दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी सोमबार राति विभत्स हत्या गरिएको छ । हत्यामा प्रयोग गरिएको हतियार फेला परेको प्रहरीले जनाएको छ । मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको हो ।
माखिमको शव झुन्डिएको अवस्थामा भेटिएको थियो । खुकुरी रगतले लतपटिएको अवस्थामा रहेको यसले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको छ । अब मानबहादुरको शब आरुबोटे ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
सोमबार राति ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको छ ।