बैतडी । बैतडीको पाटनमा एक वृद्धको मृत्यु भएको घटनामा प्रहरीलाई आरोप लागेको छ । पाटन नगरपालिका ६ लदेडाका ७४ बर्षीय कमलाकान्त पन्तको प्रहरीको कुटाईबाट मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् ।
वैशाख ३० गते राती कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र हसियाले आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो । पन्तले हसिया प्रहार गर्दा स्थानीय शान्ता पन्त घाइते समेत भएका छन् । लवदेवलाई नियन्त्रणमा लिने क्रममा कमलाकान्तलाई पनि प्रहरीले कुटेको स्थानीयले आरोप लगाएका छन् ।
लवदेवलाई नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएको थियो । कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले ५ प्रहरी विरुद्ध कर्तव्य ज्यान मुद्धामा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदारद्वय जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भुपेन्द्र महरा विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए ।
ज्यान मारेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । यो मुद्दा अदालतमा पेश गरिने प्रहरी नायव उपरीक्षक गिरीले बताए । प्रहरीले उजुरी दर्ता गरेपछि मृतक पन्तको शवको पोष्टमार्टम गरिएको छ ।
घुम्ती शिबिर सुरु
बैतडीको सिगास गाँउपालिकाको केन्द्र गर्जेमा आजदेखि एकिकृत घुम्ती सिबिर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको आयोजना तथा गाँउपालिकाको समन्वयमा सिबिर आयोजना गरिएको हो ।
आज र भोली गरि २दिन सम्म सञ्चालन हुने सिबिरमा जिल्ला सदरमुकामबाट प्रदान गरिने सेवा गाउँमै प्रदान भईरहेका छन् । आई प्रप्तहुने बिभिन्न सेवाहरु दिईने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । शिविरमा जिल्ला प्रशासन बाट नागरिकता बितरण, स्वास्थ्य कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, कृषि ज्ञान केन्द्र लगायतका कार्यालयहरुले पनि आफ्ना सेवाहरु प्रदान गर्ने बताइएको छ ।
शिविरमा आइ सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह समेत गरेको छ । जिल्लाको सबैभन्दा दुर्गम गाउपालिकामा सिबिर आयोजना गर्न पाउदाँ निकै खुसि लागेको गाउपालिका अध्यक्ष हरिसिंह धामीले बताए । यसअघि जिल्लाको डिलासैनि गाउपालिकामा शिबिरको आयोजना गरिएको थियो ।राजधानीबाट साभार