प्रवासीहरु सवार डुंगा दुर्घटना,६५ को मृत्यु

  • प्रकाशित मिति: शनिबार, बैशाख २८ २०७६
  • तामाकोशी

२८ वैशाख, काठमाडौं । प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार यो डुंगा ट्युनिसिया नजिक समुद्रमा दुर्घटना भएको हो ।दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । जीवित व्यक्तिहरुका अनुसार यो डुंगा बिहीबार लिबियाबाट छुटेको थियो र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भयो ।यो डुंगामा धेरैजसो अफि्रकाका थिए ।

ट्युनिसिया सरकारका अनुसार यो दुर्घटनाको जानकारी पाउनासाथ माछा मार्नेहरुले प्रयोग गर्ने डुंगा उद्धारका लागि पठाइएको थियो ।युएनएचसीआरको तथ्यांकअनुसार यसै वर्षको हालसम्म लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ । यो पछिल्लो दुर्घटना सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो ।