काठमाडौं । ‘हिम्मतवाली’ चलचित्रका नायक एवं रामेछापका युवा सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ । मानव तस्करीको आरोप लागेका गौतमविरुद्ध शुक्रबार ‘रेड कर्नर नोटिस’ जारी भएको हो । ‘रेड कर्नर नोटिस’ जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी सुरु गरेका छन् ।
हाल क्यानाडामा बस्दै आएका गौतम समूहले दुई बर्षअघि तीन नेपाली युवतीलाई अमेरिका लैजाने भनेर अलपत्र पारेको आरोप लागेको थियो ।
पछि अमेरिकी दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो। अनुसन्धानकै क्रममा गौतमको समेत उक्त तस्करीमा संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
उनी अदालत उपस्थित नभएपछि नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार गरेको थियो। सोही पत्रको आधारमा उनीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको प्रहरी महानिरीक्षक (आइजिपी) सचिवालयले जनाएको छ ।
संस्कार नामक चलचित्रका कलाकार तथा प्राविधिक बनाएर अमेरिका लग्ने गौतम समूहका सागर, लेकबहादुर, अनिल र सुरजलाई भने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरिसकेको छ ।