बुटवल, १९ वैशाख । कक्षा १२ को परीक्षा दिएर फर्किदै गरेकी पुष्पा भण्डारीको टिपरको ठक्करबाट मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बरको स्कुटरलाई टिपरले एक्कासी ठक्कर दिंदा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ की १९ वर्षकी भण्डारीको मृत्यु भएको हो ।
उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै थिइन् । स्कुटर चालक घनश्याम भण्डारीको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । दोषिलाई तुुरुन्त कारबाहीको माग गर्दै सिद्धार्थ गौतमबुद्ध क्याम्पसका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।