कारागारभित्रै मृत भेटिएदोलखामा एम कैदीको कारागारपभत्रै मृत्यु भेटिए , आत्महत्याको आशंका

  • प्रकाशित मिति: मंगलबार, बैशाख १७ २०७६
  • तामाकोशी

दोलखा । वैशाख १७ गते,
दोलखामा मंगलबार एक कैदी कारागारभित्रै मृत अवस्थामा भेटिएका छन् । कारागारको शौचालयभित्र इजारजस्तो देखिने डोरी घाँटीमा पासो लगाएको अवस्थामा जिरी नगरपालिका वडा नम्बर(९ का ३८ वर्षीय तस्बिर तामाङ भेटिएका हुन् । शौचालय गएका तामाङ दिउँसो १२ः४५ बजे शौचालयभित्र मृत अवस्थामा फेला परेको जिल्ला कारागार दोलखाका निमित्त प्रमुख मित्रबन्धु तिवारीले जानकारी दिए । मंसीर १० गते घरायसी विवादमा आग्लोले प्रहार गर्दा ३३ वर्षीया श्रीमती राममाया तामाङको ज्यान गएपछि मृतक तामाङलाई मंसिर १२ गते रामेछाप प्रहरीले काठमाण्डौ जान लागेको अवस्थामा पक्राउ गरेको थियो । त्यसपछि मृतक तामाङलाई जिल्ला अदालत दोलखाले पौष ५ गते जिल्ला कारागार दोलखामा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालत दोलखाले मंगलबार मात्रै ज्यानसम्बन्धी कसुर अन्तरगत २५ वर्ष कैद फैसला गरेको थियो । मृतकको शव शौचालयभित्र चुकुल लगाएकै अवस्थामा राखिएको छ । मृतकको आफन्त आएपछि मुचुल्का तयार गरी पोष्टमार्टम गरिने दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । यस अघि माघ १६ गते दोलखा जिल्ला अदालतले श्रीमती हत्या आरोपमा पुर्पक्षका लागी थुनामा पठाएकै रात कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले कारागारको शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेका थिए । जिल्ला कारागार दोलखामा पहिलो पल्ट शौचालय भित्र थुनुवाले आत्महत्या गरेपछि बन्दिबाटै नियुक्त गरिने कर्मचारीसहितको आन्तरिक प्रशासनमा कर्मचारी थप गरिएको थियो । यस अघि नाइके, सह नाइके, चौकिदार गरी जम्मा १२ जना राख्ने गरिएकामा थप गरी ३ जना नाइके, १६ जना सह नाइके र १ जना चौकिदार गरी २० जनाको आन्तरिक प्रशासन खडा गरिएको थियो ।