खाँडादेवीमा गैसस महासंघको गाउँपालिका स्तरीय समन्वय समिति गठन तथा साझा सभा एप्स सम्बन्धी अभिमूखिकरण

  • प्रकाशित मिति: आइतबार, बैशाख ८ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख ८ गते,
रामेछापको खाँडादेवी गाउँपालिकामा गैरसरकारी संस्था महासंघको गाउँपालिका स्तरीय समन्वय समिति गठन तथा साझा सभा एप्सको अभिमूखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । गैसस महासंघ रामेछाप र नागरिक समाज ः पारस्पारिक जवाफदेहीता परियोजनाको अयोजनामा कार्यक्रम भएको हो । युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित सो परियोजनाले काठमाडौँ लिभिङ ल्यावको प्रविधिमा तयार गरेको साझा सभा एप्सको बारेमा निर्वाचित जनप्रतिनिधि र नागरिक अगुवाहरुलाई जानकारी दिन तथा गैससको गाउँपालिका स्तरीय समन्वय समिति गठन गर्न अभिमूखिकरण तथा भेला कार्यक्रम आयोजना गरेको हो ।
गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा हुराडेक नेपालका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले सो एप्सको प्रयोग विधिको बारेमा जानकारी गराएका थिए । गैसस महासंघकका उपाध्यक्ष रत्नप्रसाद कँडेलले गैससको अवस्था बारे जानकारी गराएका थिए । स्थानीय स्तरका समस्या दर्ता गर्न र त्यसलाई सम्बोधन गर्न एप्स उपयोगि भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा गैससको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा गाउँपालिका सामाजिक समितिका संयोजक एवं ६ नं वडाका वडाअध्यक्ष पुष्कर कार्की, गैसस महासंघ रामेछापका अध्यक्ष भुवन श्रेष्ठ, उपाध्यक्ष रत्न कंडेल लगायतले बोलेका थिए । गैससहरुको सोही भेलाले सुकराम घिसिङको अध्यक्षतामा गाउँपालिका स्तरीय गैसस समन्वय समिति गठन गरेको छ ।