मेलमिलाप सम्बन्धि स्थानिय सरकार र सरोकारवाला संगको निति निर्माण परामर्श बैठक सम्पन्न

  • प्रकाशित मिति: शनिबार, बैशाख ७ २०७६
  • तामाकोशी

रामेछाप, बैशाख ७ गते ।
सामुदायिक मेलमिलाप सम्बन्धि स्थानिय सरकार र सरोकारवाला संगको निति निर्माण परामर्श बैठक रामेछापको सदरमुकाम मन्थलीमा शनिवार सम्पन्न भएको छ । द एसिया फाउन्डेशनको सहयोगमा तामाकोसी सेवा समिति मन्थलीले बैठकको आयोजना गरेको हो ।
बैठकमा न्यायिक समितिले सम्पादन गर्ने गरेका क्रियाकलापहरु, समस्या एंव चुनौतिहरु र मेलमिलापकर्ताहरुको योग्यता एवं अहिलेको अबस्था बारेमा विस्तृत छलफल भएको थियो । छलफलका क्रममा जिल्लामा क्रियाशिल अधिकांश मेलमिलापकर्ताहरु ऐन कानुन बमोजिम नभएको पाइएको थियो । मेलमिलापकर्ताको शैक्षिक योग्यता कानुन अनुसार स्नातक तह हुनु पर्ने र २५ वर्ष पुरा भएको हुनुपर्ने बुदाको बारेमा बृहत छलफल भएको थियो ।
कार्यक्रममा जिल्ला न्यायधिस माधदेन्द्र रेग्मीले न्यायिक समितिले सम्पादन गरेका हरेक काम कारबाहि कानुन बमोजिम हुनु पर्ने बताउनु भयो । उहाँले मुद्धा दर्ता गर्ने काम र अन्तिम निचोट निकाल्ने पनि न्यायिक समितिबाटै हुनु पर्ने बताउदै कानुन विपरित कार्यहरु सबै बदर हुने पनि चेतावनी दिनु भयो । प्रमुख जिल्ला अधिकारी लिला केसिले कानुन भन्दा माथि कोहि नहुने भन्दै कानुनको पालना सवैले गर्नु पर्ने बताउनु भयो । स्थानिय तहहरुमा देखेका समस्याहरु एक आपसमा सहकार्य गर्दै विज्ञहरुसंगको सरसल्लाह लिएर न्यायिक सम्पादन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा रामेछाप नगरपालिकाकी उपमेयर एवं न्यायिक समिति संयोजक सृजना खड्काले नगरपालिकाभित्रका विवादहरु वडाध्यक्षहरुले समेत मिलाउने गरेको प्रति गुनासो गर्दै न्यायिक क्षेत्राधिकार बमोजिम अब आइन्दाका विवादहरु न्यायिक समितिले मात्रै गर्ने बताइन् ।
खाडादेवी गाउपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक मखमलि श्रेष्ठले अन्यौलको विचमा न्यायिक सम्पादन गरिरहेको बताइन् । उनले न्यायिक समितिले निर्माण गरेका कार्यविधिमा केहि अन्यौल रहेकोले काम गर्न अफ्ट्यारो परिरहेको गुनासो गरिन् । यस्तै लिखु तामाकोसी गाउँपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक दिपशिखा दाहालले राजनितिक पृष्टभुमिबाट आएकाले न्याय सम्पादनमा केहि समस्या पैदा भएको स्वीकार गरिन् । संघिय मन्त्रालयबाट प्राप्त कार्यविधिको ढ्राफ्ट अनुसार गाउँपालिकाको कार्यविधि अलि फरक रहेकाले अब समयअनुसारको कानुन संसोधन हुन आवश्यक रहेको बताइन् ।
तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठको अध्यक्षतामा रहेको कार्यक्रममा तामाकोसी सेवा समितिका निर्देशक गोविन्द घिमिरेले तामाकोसी सेवा समितिले हाल सम्म सञ्चालन गरेका क्रियाकलापको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रम जिल्ला संयोजक हिमाल ढुङ्गेलले कार्यक्रमको सुरुमा कार्यक्रमको बारेमा सबैलाई जानकारी गराउदै स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला बारका अध्यक्ष विचारसिङ तामाङ, पत्रकार टिकाप्रसाद भट्ट, बद्रि नयाँघरे लगाएत विभिन्न स्थानिय तहमा क्रियाशिल मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।