रामेछाप । वैशाख ५ गते,
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरिसहित पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाइको माग गर्दै रामेछाप जिल्लाका पत्रकारहरु
आन्दोलनमा उत्रिएका छन् । विहिबार नेपाल पत्रकार महासंघ रामेछापले जिल्ला प्रशासन कार्यालय रामेछापमा एक घण्टा धर्ना दिएको छ । पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेललको नेतृत्वमा धर्नामा बसेको महासंघको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्मा मार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेकाले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय अनुसार एक घण्टा धर्ना दिइएको पत्रकार महासंघ रामेछापले जनाएको छ । 
पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटक पटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निष्तेज बनाउने काम बढेपछि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यक्रमअनुसार पत्रकार महासंघ रामेछाप पनि आन्दोलनका कार्यक्रममा ऐक्यवद्धता जनाउँछ पत्रकारहरुको टोलीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र बुझ्दै रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले ज्ञापनपत्रमा उल्लेख भएका मागहरु तत्काल सम्बन्धीत ठाउँमा पठाउँने प्रतिवद्धता जनाएका छन् ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गर्दै रामेछापका पत्रकारहरु आन्दोलित
- प्रकाशित मिति: बिहिबार, बैशाख ५ २०७६
- तामाकोशी