पर्वतका स्थानीय तहमा ठुलो रकम बेरुजु भेटिएको छ। अपारदर्शी र मनोमानी रुपमा खर्च गर्दै आएको आरोप लागेका स्थानीय तहमा महालेखा परीक्षकको कार्यालयले खर्चमा ठुलो रकम बेरुजु निकालेको हो। पर्वतका सातवटा पालिकामा आर्थिक बर्ष ०७४र०७५ मा १३ करोड दुई लाख ३८ हजार रुपैयाँ बेरुजु भेटिएको छ।
कुश्मा नगरपालिकाको खर्च सबैभन्दा बढी अपारदर्शी देखिएको हो। कुश्मा नगरपालिकाको महालेखा परीक्षकको कार्यालयले एक अर्ब २० करोड १७ लाख ७९ हजार रुपैयाँको लेखापरीक्षण गरेको थियो। त्यसमध्ये कुश्मा नगरपालिकाको तीन करोड नौ लाख ७५ हजार रुपैयाँ बेरुजु भेटिएको आजको नागरिक दैनिकमा समाचार छ।
यसैगरी पर्वतको फलेबास नगरपालिकाको एक करोड ५६ लाख ५८ हजार रुपैयाँ बेरुजु छ। बिहादी गाउँपालिकाको एक करोड आठ हजार ४६ हजार बेरुजु छ। जलजला गाउँपालिकाको दुई करोड ५७ लाख २० हजार, पैयूँको एक करोड ९७ लाख ७२ हजार, महाशिलाको एक करोड ३१ लाख सात हजार र मोदी गाउँपालिकाको एक करोड ४१ लाख ६० हजार रुपैयाँ बेरुजु भेटिएको छ।