वृटिस सैनिकमा नेपाली महिलालाई पनि जान स्विकृती दिनु पर्ने माग

  • प्रकाशित मिति: बुधबार, चैत्र २० २०७५
  • तामाकोशी

रामेछाप । चैत २० गते,
वृटिस सेनामा नेपाली महिलालाई पनि भर्ति हुन नेपाल सरकारले बाटो खुल्ला गरिदिनु पर्ने माग राख्दै एउटा संस्थाले देशव्यापी अभियान सञ्चालन गरेको छ । स्यालुट गोर्खा प्रालि नामक संस्थाले सो अभियान सञ्चालन गरेको हो ।
सोही अभियान अन्तर्गत संस्थाले बुधबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि सो मागलाई दोहोर्याएको हो । संस्थाका अध्यक्ष राउत पांण्डेले सुगौली सन्धिमानै वृटिस आर्मीमा नेपाली महिला र पुरुष दुवैलाई लैजाने गरि सम्झौता भएको भएपनि अहिलेसम्म नेपाली महिलालाई वेलायती सेनामा जान नेपाल सरकारले स्विकृती नदिनु महिला माथिको विभेद भएको बताए ।
आउने वर्ष बेलायती सेनामा ४ सय ३२ जनाको माग भएकोमा त्यसमा महिलाको पनि माग भएको उनले बताए । सेनामा जान नेपाली महिलाहरुले तालिम लिई रहेका भए पनि नेपाल सरकारले सो बाटो खुल्ला नगरिदिएको उनले गुनासो गरे । यसै विषयमा देशभरिका नागरिकलाई जानकारी दिन संस्थाले अभियान चलाएको उनले बताए ।
पत्रकार सम्मेलनमा संस्थाका काठमाडौँ शाखका प्रमुख रमेश पाण्डेले वृटिस आर्मी, हंकङ प्रहरी तथा भारतीय सेनामा जान धेरै पैसा लाग्छ भनि बिचमा दलालहरुले पैसा खाने गरेको बताउँदै छनौट प्रक्रियामा कुनै पनि पैसा नलाग्ने बताए । छनौटपुर्वको तालिममा भने कम्पिनिहरुले निश्चित रकम लिएर तालिम दिने उनले बताए ।
संस्थाका दाङ शाखा प्रमुख बालकृष्ण रावलले वृटिस र हंकङको लागि वार्षिक १० देखि १२ हजार र भारतीय सेनाको लागि वार्षिक ५० देखि ६० हजारसम्म नेपालीले आवेदन गर्ने गरेको जानकारी दिए ।