हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने प्रदेश ३ सरकारको निर्णय, प्रदेश सांसदहरुले पनि ३ दिनको तलव दिने

  • प्रकाशित मिति: मंगलबार, चैत्र १९ २०७५
  • तामाकोशी

मकवानपुर । चैत १९ गते,
तीन नम्बर प्रदेश सरकारले प्रदेश २ का नागरिक विपत्तिमा परेका बेलामा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश ३ को मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले छिमेकी प्रदेशमा विपत्तिमा परेका नागरिहरुलाई सहयोग पुग्नेगरी एक करोड रुपैयाँ दिने निर्णय गरेको हो । प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन परिवारको आवास निर्माण गर्नका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो । सोमबार मात्रै मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्षा जिल्लामा स्थलगत रुपमा निरीक्षण गर्नुभएको थियो । त्यहाँका घाइते उनीहरुका आफन्तसँग समेत विरगन्ज र कलैयाको अस्पतालमा पुगेर भेट गर्नुभएको थियो ।
हावा हुरीका कारण विपत्तिमा परेका बारा र पर्सा जिल्लाका नागरिकका लागि प्रदेश नम्बर ३ का सांसदहरुले पनि सहयोग गर्ने भएका छन् । छिमेकी प्रदेशमा विपत्ति पर्दा टुलुटुलु हेरेर बस्न नहुने भन्दै सोमबार प्रदेशसभा बैठकमा सांसदहरुले आवाज उठाएपछि मंगलबार प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सबै प्रदेशसभाका सबै सदस्यहरुबाट तीन दिन बराबरको तलब दिने निर्णय गरिएको हो ।