काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले विप्लव समूहका सबै नेताकार्यकर्ताहरुलाई चैत महिनाभित्र नियन्त्रणमा लिइसक्ने बताएका छन्। ‘सरकारले विप्लव समूहका सबैलाई चैत महिनाभित्र नियन्त्रणमा लिइसक्नेछ,’ नेकपा संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले भने।
उनले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लवसँग समय रहेको र मूलधारमा आउने माैका नछोड्न उनीहरुलाई आग्रह गर्दै भने, ‘यदि उहाँहरु शान्तिपूर्ण तरिकाले मूलधारमा आउनुहुन्न भने जेलको बाटो मूलधारमा आउनु हुनेछ।
चैत १५ र १६ गते काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनको तयारी राम्रोसँग अघि बढिरहेको जानकारी पनि प्रधानमन्त्री ओलीले नेकपा सांसदहरुसँग गराए। उनले भने, ‘केहीले चासो नदेखाउँदैमा लगानी सम्मेलनमा खासै असर गर्दैन, सबैका आआफ्ना स्वार्थ हुन्छन्।’ विभिन्न कारण देखाउँदै अमेरिका र युरोपेली युनियन लगानी सम्मेलनमा सहभागी हुने छैनन्।
प्रधानमन्त्री ओलीले एक महिनापछि सुरु हुने बजेट अधिवेशनका लागि तयारी गर्न पनि सांसदहरुलाई निर्देशन दिए। ‘बजेटबारे केके कार्यक्रम ल्याउनुपर्छ, गाउँगाउँ गरेर घुमेर योजना लिएर आउनुस्,’ उनले सांसदहरुसँग भने।
त्यस्तै प्रधानमन्त्री ओलीले सरकार र पार्टीबिरुद्ध भ्रम पैदा गरिएको उल्लेख गर्दै त्यसलाई चिर्नसमेत सभासद्हरुसँग आग्रह गरे। इन्फो खबरबाट साभार