काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आर्थिक सहयोग नगर्न अपील गरेको छ । प्रतिबन्धित नेकपा विप्लव समहूलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारबाही हुने प्रष्ट पारेको गृह मन्त्रालयले जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्ने आग्रह गरेको छ । २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारले अहिले उसलाई आर्थिक र भौतिक सहयोगन नगर्न भनेको हो ।
विप्लव समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली सुदर्शनसहित ८ जना पक्राउ परेको भोलिपल्टै आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानूनअनुसार कारबाही हुने प्रष्ट पारेको छ ।
‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ’ मन्त्रालयले भनेको छ ।