रामेछाप । चैत ५ गते ,
रामेछापको सदरमुकाम मन्थलीमा प्रथम रामेछाप कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५ मंगलबारबाट सुरु भएको छ । मन्थली नगरपालिकाको आयोजना तथा सामाजिक सशक्तिकरण नेपालको सह(आयोजना एवं जिल्ला समन्वय समिति रामेछाप, रामेछाप उद्योग वाणिज्य संघ र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुरु भएको मेलाकोे प्रदेश नम्बर ३ का कृषिमन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै कृषिमन्त्री लामाले यो महोत्सवले रामेछाप जिल्लालाई देश तथा विदेशमा चिनाउन मद्दत पुग्ने बताए । जिल्लाको उत्पादनलाई देशव्यापी बनाउन महोत्सवले सहयोग गरेको उनको भनाई छ । रामेछाप जिल्लाको कृषि र पर्यटन क्षेत्रको विकासका लागि आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री लामाले बताए । 
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमलाई जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमार कार्की , नेकपाका नेता आनन्द श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ, जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्की गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसअघि मंगलबार बिहान महोत्सवको अवसरमा मन्थली नगरपालिकाको आयोजनामा र्यालीको आयोजना गरिएको थियो । विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि , विद्यार्थी , शिक्षक सहित विभिन्न सास्कृतिक झल्काउने झाँकी सहित निस्कीएको र्यालीले मन्थली बजारको परिक्रममा गरेको थियो । चैत १७ गतेसम्म संचालन हुने मेलामा राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जन दिइरहेका छन् । 
मेलामा लाइभ कन्सर्ट, जिल्ला स्तरीय गायन तथा नृत्य प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । रोटेपिङ, बाल उद्यान, स्थानीय साँस्किृतिक झाँकी प्रदर्शन, दैनिक उपभोग्य बस्तुको स्टल,स्थानीय स्तरमा उत्पादीत विभिन्न कृषि जन्य सामाग्री र उँटको चमत्कारी नृत्य मेलाको आकर्षण आकर्षण रहेको छ । मेलाको पहिलो दिन मंगलबार प्रवेश निशुल्क गरिए पनि बुधबारबाट मेला अवलोकन गर्न प्रवेशमा शुल्क रु ५० रुपैंया लाग्ने आयोजकले जनाएको छ । मेलामा ३१ लाख ५६ हजार रुपैंया खर्च हुने अनुमान गरिएको छ ।
रामेछापको मन्थलीमा कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सुरु
- प्रकाशित मिति: मंगलबार, चैत्र ५ २०७५
- तामाकोशी