सरकारमा गएको महिना दिन नपुग्दै एक्कासि एक्कासि सिके रावतले गरे यस्तो निर्णय

  • प्रकाशित मिति: मंगलबार, चैत्र ५ २०७५
  • तामाकोशी

काठमाडौं, ५ चैत । सरकारसँग ११ बुदे सहमती गरेर मुलधारको राजनीतिमा आएका सिके राउतले दलको नाम परिवर्तन गरेका छन् । सिरहाको लहानमा २ दिनसम्म बसेको केन्द्रिय परिषद बैठकले पार्टीको नाम परिवर्तनको निर्णय गरेको हो । यस अघि ‘स्वतन्त्र मधेश गठबन्धन’ रहेकोमा अबदेखि सो दलको नाम ‘जनमत पार्टी नेपाल’ रहनेछ ।

यस्तै बैठकले सिके राउतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रिय समितिको चयन गरेको छ । केन्दिय समितीले ‘जनमत पार्टी नेपाल’ निर्वाचन आयोगमा छिट्टै दर्ता गर्ने समेत निर्णय गरेको छ । विगत लामो समय स्वतन्त्र मधेस गठबन्धनका नामवाट देखि पृथकतावादी आन्दोलन गर्दै आएका राउत हालै सरकारसंग ११ बुँदे सहमति गरि राष्ट्रिय राजनीतिमा आएका हुन् । उनले पृथकतावादी आन्दोलन छोडेर मुल राजनीतिमा आफुलाई रुपान्तरण गरे ।



काठमाडौंमा सरकारसंग ११ बुँदे सहमति गरि जनकपुर झरेका राउतले सरकारसंग भएको सहमतिका बारेमा आफ्ना पार्टीका कार्यकर्तालाई जानकारी दिन राष्ट्रिय परिषद् बैठक बोलाएका हुन् । उनले बैठकमा सहभागी हुन नागरिकता अनिवार्य लिएर उपस्थित हुन आग्रह गरेका थिए । साथै परिषद बैठकमा पञ्चकन्याहरुद्धारा राष्ट्रिय गान समेत प्रस्तुत गरिएको थियो ।

सरकारसंग सहमति पश्चात जनकपुर पुगेका राउतलाई उनका कार्यकर्ताले स्वागत गर्दा देखिएको दृष्यले उनी माथि शंका उत्पन्न भएको थियो । उनलाई स्वागतका लागि उपस्थित भएकाहरुले स्वतन्त्र मधेसका पक्षमा नारावाजी गरेका थिए । स्वागतमा आएकाहरुले फ्रि मधेस लेखिएको ब्यानर र झण्डा समेत लिएर उपस्थित भएका थिए । तर अहिले परिषद बैठकवाट आएका सूचनाहरुले उनी प्रतिको सो अविश्वास हटेको राजनीतिक वृत्तमा चर्चा भएको छ । उनको यो कदमको राजनीतिक दलहरुले स्वागत गरेका छन् ।

जनमत पार्टीमा सीके राउतलाई अध्यक्ष चयन गरिएको छ । यस्तै केन्द्रीय सदस्यमा कैलाश महतो (महोत्तरी) राजकुमार यादव (सिरहा) अब्दुल खान (बर्दिया), चन्द सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरङ) सीताराम पण्डित (सुनसरी), सुरेन्द्र शर्मा (सप्तरी), सरिता यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), सञ्जय यादव (महोत्तरी), नरेश कुशहवा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), सञ्जय शाह (पर्सा),धुरव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलबस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आसा मेहता (सुनसरी) रहेका छन् ।

बैठकले बाँकी १० जना सदस्यमध्ये दलित जनजाती अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनयन गर्ने जिम्मेवारी राउतलाई दिएको छ । यस्तै चुनाव चिन्ह ‘अष्टदल’ राखिने भएको छ भने पार्टीको झण्डामा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको
छ ।