रामेछाप । फागुन २९ गते ,
अख्तियार दुरुपयोग अनुसन्धान अयोगका सचिव महेश्वर न्यौपानेले नेपालमा सुशान जटिल बन्दै गएको बताएका छन् । आयोगको हेटौँडा कार्यालयले रामेछाप सदरमुकाम मन्थलीमा बुधबार आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यौपानेले निर्ममतापूर्वक नलागे नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनै नसक्ने बताए । उनले नेपालको सन्दर्भमा सुशासन दुरह बनेको उनले बताए ।
न्यौपानेल भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सम्पत्तिको संरक्षण नेपालको सन्दर्भमा अत्यन्त चुनौतीको विषय बनेको बताए । कार्यक्रममा बोल्दै प्रदेश नं ३ का सांसद शान्तिप्रसाद पौडेलले नेपालमा बुझेका, बाठा र जानेकाबाट नै बढि अख्तियारको दुरुपयोग भएकोले यो चुनौतीको विषय बनेको बताए । उनले अख्तियारमा कतिपय उजुरीहरु काम गर्ने मानिसलाई दुःख दिने नियतले पनि पर्ने गरेकाले त्यस तर्फ पनि सचेत हुनु पर्ने बताए ।
अख्तियारका अनुसार नेपालमा सबैभन्दा बढी अनियमितता शिक्षा र त्यस पछि संघिय मामिला मन्त्रालय अन्तर्गतका स्थानीय तहमा हुने गरेको छ । अख्तियारका सहसचिव प्रदिप कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार शिक्षामा सबैभन्दा बढी १८ दसमलव ३२ र संघिय मामिलामा १८ दशमलव ०२ प्रतिशत भ्रष्टाचार हुने गरेको छ । प्रदेश नं ३ मा भने सबैभन्दा बढी संघिय मामिला मन्त्रालय अन्तर्गतका उजुरी परेका छन् ।
आर्थिक वर्ष २०७५÷०७६ मा परेका कुल ७ सय २९ उजुरी मध्ये २ सय ७६ उजुरी सो आयोग अन्तर्गता रहेको हेटौडा कार्यालयकी प्रमुख होमकला पाण्डेले बताइन् । उनका हेटौडामा उजुरी पर्नेमा शिक्षा मन्त्रालय दोस्रो स्थानमा छ । सो मन्त्रालय अन्तर्गत १ सय ९९ उजुरी परेका छन् ।
रामेछाप जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा जिल्ला स्थिति सरकारी कार्यालयका प्रमुखहरु समेतको सहभागिता रहेको सो कार्यक्रममा रामेछाप नगरापलिका प्रमुख नरबहादुर मगर, दोरम्बा गाउँपालिका प्रमुख कमानसिंह मोक्तान, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, लिखु तामाकोसी गाउँपालिका उपप्रमुख दीपशिखा दाहाल लगायतले अहिले भई रहेका काम र काम गर्दाका चुनौतीको बारेमा जानकारी गराएका थिए ।
नेपालमा भ्रष्टाचार नियन्त्रण गर्नु अत्यन्त चुनौती : अख्तियार सचिव न्यौपाने
- प्रकाशित मिति: बुधबार, फाल्गुन २९ २०७५
- तामाकोशी