अधिकारीको घरमा रुवाबासी – विमान उडेको ५ मिनेटमै दुर्घटना ! विमान दुर्घटनामा मृत्यु हुने नेपाली चेली एकता अधिकारी

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २७ २०७५
  • तामाकोशी

काठमाडाैं- इथियोपिया विमान दुर्घटनामा मृत्यु हुने नेपाली गोरखाकी एकता अधिकारी रहेकाे पुष्टि भएकाे छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्रोतका अनुसार अधिकारी इथियोपियास्थित संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व खाद्य कार्यक्रममा कार्यरत थिइन्। उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत रहेकाे बताइएकाे छ।

एकता २ वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन्। विशेषतः नेपालमा आएको २०७२ को भूकम्पपछिको विपत‍्‍‍काे स्थितिमा एकता विश्व खाद्य कार्यक्रमको ‘आपतकालीन राहत कार्यक्रम’मा संलग्न थिइन्।



उनी खाद्य कार्यक्रमअन्तर्गत इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याकाे नैरोबीमा आयाेजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदै गरेकाे खुलेकाे छ।

आइतबार भएको विमान दुर्घटनामामा ३५ देशका नागरिक तथा एक राष्ट्र संघ प्रतिनिधिकाे मृत्यु भएकाे थियाे। इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा पर्दा सवार सबै यात्रु र चालक दलका सदस्यको निधन भएको थियो। विमानमा १ सय ४९ यात्र र ८ जना चालक दलका सदस्य थिए।

दुर्घटनमा परी सबैभन्दा बढी केन्याली नागरिकको मृत्यु भएको छ। ३२ जना केन्यालीको मृत्यु भएको एयरलाइन्सले पुष्टि गरेको छ। यसैगरी १८ जना क्यानडेली तथा ९ जना इथियोपियाका नागरिकको मृत्यु भएको एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरी चीन, इटाली र अमेरिकाका ८/८ जना नागरिकको मृत्यु भएको छ।

स्थानीय समय अनुसार ८ बजेर ३८ मिनेटमा उडेको इथियोपियन एयरलाइन्सको ‘बोइङ-७३७’ विमान पछिल्लो पटक ८ बजेर ४४ मिनेटमा सम्पर्कमा आएको थियो।

उडान भएको केही मिनेटमा नै विमान दुर्घटनामा परेकाे थियो। नेपाल सरकारले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। नेपाल लाइभबाट साभार