यी हुन् पर्वतका मनकारी युवा ,जसले लाखाैंकाे गहनासहितको झोला फिर्ता गरे

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २७ २०७५
  • तामाकोशी

पर्वत – यात्राका क्रममा बसमा साटिएको ६ तोला सुनका गहनासहितको झोला पर्वतकी एक महिलाले सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी अमृता तिवारीले बसमा साटिएको गहना सहितको झोला आइतबार सम्बन्धित धनीलाई बुझाउनुभएको हो ।
पञ्चमुल मामाघर भइ हाल बुटवल बस्दै आएकी बिन्दु लम्सालको झोला अमृतासँग साटिएको थियो ।

स्याङजाको पञ्चमुलबाट अमृता र बिन्दु एउटै बसमा आउँदै गर्दा कार्किनेटाबाट छुट्नेबेलामा अमृता तिवारीसँग बिन्दुको झोला साटिएको थियो । फलेवास नगरपालिका ३ को वडा कार्यालयमा आइतबार एक कार्यक्रम गरी बिन्दुका मामा भोजराज ढकाल र माइजु भावना ढकाललाई झोला हस्तान्तरण गरिएको हो ।



दुवैजनाको झोलाको रंग र साइज एउटै भएकाले साटिएको जनाइएको छ । माइली तिलहरी, झुम्का एक थान, कालोमाला, दुईवटा हातमा लगाउने बाला, चन्द्रमा, दुईटा औंठी, एउटा लकेटसहितको सिक्री गरि ६ तोला सुन सहित १८ हजार ३ सय पाँच रुपैयाँ नगद समेत झोलामा थियो ।

अमृता तिवारीले घरमा आएर झोला खोल्दा अरुको झोला भएको थाहा पाएपछि पहिले कार्किनेटा प्रहरीलाई खबर गर्नुभएको थियो । त्यसपछि तिवारीकै भतिजी सुनिता चापागार्इँ पनि त्यसै बसमा आएको थाहा पाएपछि सुनितामार्फत नै झोला साटिएकी बिन्दु लम्साललाई सम्पर्क गरेर झोलासहित बहुमूल्य गहना र नगद फिर्ता गरिएको हो ।