काठमाडौं – आज देश चन्द्रकान्त राउत अर्थात सिके राउतमय भएको छ । राउतले मुलधारको राजनीतिको बाटो रोज्ने र विगतका एजेण्ड आजैबाट छोडेको घोषणा र उनी चाँडै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने विषयले खुबै चर्चा पाइरहेको थियो । यही बेला नेकपाका प्रभावशाली नेता भीम रावलले गम्भीर आशंका गर्नुभएको छ ।
सिकेले अब स्वतन्त्र मधेसको मुद्धा छोड्ने सरकारसँगको सहमतिमा भएको बताइएको छ । नेपाल सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा र मोर्चाको तर्फबाट संयोजक चन्द्रकान्त राउतले ११ बुँदे सम्झौंता गर्दै देशको समृद्धिमा लाग्ने जनाउनु भएको छ । यो बिचमा २ नम्बर बुँदामा राखिएको कुरा अलिक स्पष्ट नभएको चर्चा भइरहेको छ ।
यो बिचमा नेकपा प्रभावशाली एवं प्रखर नेता रावलले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको सम्झौताको भाषाप्रति आपत्ति जनाउँनु भएको छ । उहाँले सरकार र गठबन्धनका संयोजक सिके राउतबीच भएको सम्झौता दुई देशकाबीच भएको सम्झौताको भाषा प्रयोग भएको भन्दै किन यस्तो गरियो भनी प्रश्न उठाउनु भएको छ ।

आज ट्विटरमा उहाँले लेख्नु भएको छ, ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कहीँ पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं ।’