सात महिनामा मन्थली नगरपालिकाको विकास बजेट खर्च चौविस प्रतिशत मात्रै

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २२ २०७५
  • तामाकोशी

रामेछाप । फागुन २२ गते,
रामेछापको सदरमुकाम मन्थली नगरपालिकाले ७ महिनाको अवधिका विकास बजेटको २४ प्रतिशत मात्रै रकम खर्च गर्न सकेको छ । नगरपालिकाको बुधबार सम्पन्न चौथो नगरसभामा नगरप्रमुख रमेश बस्नेतले सो कुराको जानकारी दिएका हुन् ।
बस्नेतका अनुसार चालु आर्थिक वर्षको लागि मन्थली नगरपालिकाको पुँजितग वार्षिक बजेट कुल २८ करोड ८२ लाख १९ हजार रुपैयाँ रहेको छ । त्यस मध्ये १३ करोड ४७ लाख २३ हजार रुपैयाँ निकास भै सकेको छ । निकास भएको रकमबाट विकासका काममा ३ करोड २९ लाख २५ हजार रुपैयाँ मात्र खर्च भएको छ । यो बजेट निकास भएको बजेटको २४ दशमलव ४३ प्रतिशत बजेट मात्रै हो ।
नगरपालिकाका यस वर्ष ३ सय ९५ वटा योजना रहेकामा १ सय ६९ वटा योजनामा उभोक्ताहरु सम्झौता गर्न समेत आएका छैनन् । जम्मा १ सय २७ वटा योजनामात्र सझौता भई काम सुरु भएका छन् । हालसम्म ७२ वटा योजनाले मात्र काम सम्पन्न गरि अन्तिम भूक्तानी लिएका छन् ।
नगरपालिकाले ७ महिनाको अवधिमा आन्तरिक आयबाट १ करोड ५८ लाख ७३ हजार रुपैयाँ राजश्व उठाउन सफल भएको छ । पर्याप्त र दक्ष जनशक्तिको अभावमा सोचे अनुसार काम गर्न नसकेको नगरप्रमुख बस्नेतले बताए ।
विगठित संविधान सभा सदस्य तारानारायण श्रेष्ठले उद्घाटन गरेको नगरसभालाई जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, नेकपा नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादु कार्की, गैसस महासंघ रामेछापका अध्यक्ष भूवन कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नगरपालिका भित्र वेथिति रहेको बताउँदै त्यसमा एकले अर्कालाई दोष लगाएर उम्कन नमिल्ने बताए । नगरपालिकाको विकास खर्च समयमा नहुनुले आर्थिक वर्षको अन्तमा बजेट लिने र फेरीपनि भ्रष्टाचारको संकेत देखिएको उनले बताए ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले विकास र समृद्धिको कुरामा सबे एकजुट हुनु पर्ने बताए । नेकपाका नेता आनन्द श्रेष्ठले समृद्ध नगर निर्माणमा सबै जिम्मेबार भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रमका काँग्रेस जिल्ला सचिव लेखबहादुर कार्कीले काँग्रेसले रचनात्मक काममा सँधै सहयोग गरेको बताउँदै यसलाई कमजोरीको रुपमा नलिन आग्रह गरे ।